• १२ साउन २०८१, शनिबार

‘स्थिरता र समृद्धिका लागि गठबन्धन’

blog

अशोक अधिकारी/पुष्कर भण्डारी/हिक्मत सिंह

डडेल्धुरा, कात्तिक १८ गते ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक व्यवस्था र राष्ट्रिय आवश्यकताका आधारमा सत्तारूढ दलबीच गठबन्धन भएकाले जनताद्वारा अनुमोदन हुने बताउनुभएको छ। 

गृह जिल्ला डडेल्धुरामा सत्ता साझेदार दलद्वारा आयोजित संयुक्त चुनावी सभालाई बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले संविधान निर्माण र लोकतन्त्र प्राप्तिका लागि लडेका दलहरूबीच सहकार्यको संस्कार अभिवृद्धि गरी देशको आर्थिक रूपान्तरण र समुन्नतिको दिशामा अघि बढाउने बताउनुभयो। उहाँले सत्तारूढ र अन्य दलको गठबन्धन १०–१५ वर्षसम्म कायम रहने अपेक्षा गर्दै यसरी जाँदा देशमा स्थिरता र समृद्धि आउने बताउनुभयो। उहाँले विचार अलग भए पनि सबैको विचारलाई सम्मान र स्वीकार गर्दै मिलेर जानुपर्ने अवस्थाको  विकल्प नरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि फरक–फरक विचार भएका राजनीतिक दलहरू एकै ठाउँमा उभिएको बताउनुहुँदै अत्यन्त ठूलो लडाइँबाट प्राप्त गरेको संविधान बचाउनु गठबन्धनको सफलताका रूपमा अथ्र्याउनुभयो। 

पाँच वर्षे कार्यकाल पाएको संसद् दुई–दुई पटक भङ्ग हुँदा निम्तिएको अस्थिरता अन्त्य गर्न र संसद्को स्थिरताका लागि पनि गठबन्धन निर्माण गरिएको उहाँले बताउनुभयो। तुलनात्मक रूपमा धेरै देशको भन्दा राम्रो रहेको नेपालको संविधान नै तोड्न खोजेपछि बाध्य भएर आफूहरूले एक भएर संविधान, लोकतन्त्र र  सङ्घीयता बचाएको स्पष्ट पार्दै उहाँले केही वर्षसम्म सँगै काम गर्ने, सँगै जाने संस्कृति र पद्धतिको विकास गर्ने दिशातर्फ आफूहरू लागेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि सबै नागरिकको अधिकार संविधानमै व्यवस्था गरिएको बताउनुभयो। उहाँले प्राप्त अधिकारलाई जोगाउने र सुदृढीकरण गरेर जाने अठोट व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “आदिवासी, जनजाति, महिला, मधेशी, दलित सबैको देश हो यो। सबैलाई ठाउँ दिनुपर्छ। सबैलाई हक दिनुपर्छ। सबैलाई समावेश गरेर हाम्रो राष्ट्र समावेशी र लोकतान्त्रिक बनाएको खण्डमा यो देशमा मेलमिलाप स्थापित हुन्छ।”

सुदूरपश्चिमको विकासमा जोड

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारमार्फत यस क्षेत्रको विकास गर्ने बताउनुभयो। उहाँले धनगढीदेखि डडेल्धुरासम्म चार लेन सडक निर्माण गर्न सके अझै सहज हुने बताउनुहुँदै त्यसका लागि काम भइरहेको जानकारी दिनुभयो। साथै जोडबुढा, चिर्किटे र डडेल्धुरा जोड्ने सडकलाई कालोपत्रे गर्ने, सबै गाउँमा बाटो पु-याउने र सबै नागरिकका घरमा बिजुली पु-याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

घटालबाबाको मन्दिर, उग्रतारा भगवतीको मन्दिर आदि क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा मेडिकल कलेज स्थापना गर्ने कार्य सुरु भएको उहाँले बताउनुभयो। अजयमेरु गाउँपालिका–१ स्थित पुइलेकमा विमानस्थल निर्माण, पश्चिम सेती र एसएसआर (तल्लो सानो सेती) जलविद्युत् आयोजना निर्माण गरी सेती र महाकाली क्षेत्रका नागरिकलाई आर्थिकोपार्जनको आधार तयार गर्ने बताउनुहुँदै उहाँले महाकाली नदीमा पुल निर्माण गर्ने सन्दर्भमा भारतसँग कुरा भइरहेको जानकारी दिनुभयो। 

छिमेकीसँग राम्रो सम्बन्ध

प्रधानमन्त्री देउवाले भारत र चीनसँगको सम्बन्ध राम्रो बनाउने बताउनुहुँदै नेपालको हकका लागि लड्ने प्रस्ट पार्नुभयो। लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्याबारे भारतसँग र हुम्लाको सीमा विवादबारे चीनसँग कूटनीतिक वार्ता गर्ने बताउनुहुँदै उहाँले अगाडि भन्नुभयो, “दुवै छिमेकीसँग वार्ता र कूटनीतिक पहल गरेर हाम्रो देशमा उत्पन्न समस्या समाधान गर्नुपर्छ, यसमा सरकारले प्रयास गर्नेछ।”

कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले सत्ता साझेदार दलहरूबीच सत्यका पक्षमा लड्न गठबन्धन बनेको बताउनुभयो। लोकतन्त्रको कसी निर्वाचन भएको बताउँदै उहाँले भन्नुभयो, “डडेल्धुरा जिल्लाले हरेक पटक सुनको कसीमा सुन नै भेट्टाएको जस्तो गरेर छ पटकसम्म शेरबहादुर देउवाजीलाई जिताएर पठाउनुभयो। हरेक पटक केही न केही उपलब्धि देशले ग-यो, जिल्लाले पनि ग-यो।”

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य खगराज भट्टले अहङ्कार र निरङ्कुशतावादी सोच निर्वाचनबाट पराजित हुने बताउनुभयो। उहाँले लोकतन्त्र, गणतन्त्र, पहिचान, सङ्घीयता र संविधानवादमा विश्वास गर्ने प्रत्येक नेपालीको नायकका रूपमा प्रधानमन्त्री देउवालाई चित्रण गर्दै देउवा नेतृत्वको सत्तारूढ गठबन्धन जनताद्वारा अनुमोदन हुने बताउनुभयो। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, एकीकृत समाजवादीका नेत्री नीरादेवी जैरु, जनमोर्चाका केन्द्रीय सदस्य नन्दराज भट्ट, राष्ट्रिय सभा सदस्य जगत पार्की, प्रदेश सभा (ख)का उम्मेदवार गोविन्दराज बोहराले सत्तारूढ गठबन्धनका पक्षमा मतदान गर्न अपिल गर्नुभयो।