• २१ असार २०८१, शुक्रबार

टी–२० विश्वकप क्रिकेट

पाकिस्तानसँग हार्‍यो दक्षिण अफ्रिका

blog

दक्षिण अफ्रिकालाई हराएपछि खुसी साट्दै पाकिस्तानका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक १७ गते । अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ । सिड्नीका बिहीबार भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले हरायो ।

वर्षाले बिथोलेको खेलमा पाकिस्तानले दिएको एक सय ४२ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित १४ ओभरमा नौ विकेटको क्षतिमा एक सय आठ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल १४ ओभरमा झारिएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ३६ रन बनाउनुभयो । एडिन मार्क्रमले २०, ट्रिस्टान स्टुब्सले १८ र हेईनरिच क्लासेनले १५ रन बनाउनुभयो । बलिङमा पाकिस्तानका शहिन शाह अफ्रिदीले तीन तथा सादब खानले दुई विकेट लिनुभयो ।  

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि सादब खानले सर्वाधिक ५२ र इफ्तिखर अहमदले ५१ रन बनाउनुभयो । मोहमद नवाज र मोहमद हरिसले समान २८/२८ रन जोड्नुभयो । बलिङमा दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्किया एक्लैले चार विकेट लिनुभयो ।

यस जितसँगै तेस्रो स्थानमा रहेको पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘बी’ मा रहेको पाकिस्तानले चार खेलबाट चार अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको पाँच र शीर्षस्थानमा रहेको भारतको ६ अङ्क छ ।

चौथो स्थानमा रहेको बङ्गलादेशको पनि चार अङ्क छ । पाँचौँ स्थानमा रहेको जिम्बावेको तीन र अन्तिममा रहेको नेदरल्यान्ड्सको दुई अङ्क छ । एजेन्सी