• ८ वैशाख २०८१, शनिबार

सामाजिक यथार्थवादी नाटक ‘एक चिहान’

blog

काठमाडौँ, कात्तिक १६ गते । गरिब किसान र मजदुरहरूको जीवनमा आधारित नाटक ‘एक चिहान’ सामाजिक यथार्थवादी नाटक हो। स्व. उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित उपन्यासको नाट्य रूपान्तरण निर्देशक परिवर्तन कार्कीले गर्नुभएको हो। वि.सं. २०११ तिरको निम्नवर्गीय जीवनको यथार्थ नाटकमा प्रस्तुत गरिएको छ। 

गरिबी, बाध्यता र विवशताको परिवेशमा निम्नवर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ। नेवारी पोसाक एवं लवजले यो नाटकलाई अझ परिपक्व बनाएको छ। 

प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य, रूढिवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वाभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ।

नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ। नाटक त्यही समाज आदर्शाेन्मुख रहेको कुराबाट अन्त्य भएको छ। अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रूपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश नाटकमा देखाउन खोजिएको छ। 

साहित्यकार हृदयचन्द्रसिंह प्रधान नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुनुहुन्छ। उपन्यास विधामा उहाँका ‘स्वास्नीमान्छे’ र ‘एक चिहान’ गरी दुई मात्र कृति प्रकाशित छन्। यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीहरूले भोग्नु परेका यातना, किसानमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास र त्यस प्रकारका विकृतिबाट मुक्तिको मार्गनिर्देशन गर्नुभएको छ। 

नाटक कात्तिक २० देखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा फेरि मञ्चन हुने भएको छ। ‘एक चिहान’ उपन्यास कक्षा ११ र कक्षा १२ को पाठ्यक्रमको नेपाली विषयमा पनि समावेश छ। 

उपन्यासमा पहाडी गरिबी परिवेशमा रहेको नेवार परिवारले भोग्नु परेका समस्या र अप्ठ्याराबारे व्याख्या गरिएको छ। पाठ्यक्रममा समावेश नाटक भएका कारण विद्यार्थीको रुचि नाटकमा बढी परेको पोखरा थिएटरका अध्यक्ष तथा नाटकका निर्देशक परिवर्तनले बताउनुभयो। झन्डै डेढ घण्टाको नाटकले घरि हसाउँछ, घरि रुवाउँछ; विगतका स्मरण मात्र हैन गम्भीरसमेत बनाउँछ। 

नाटकमा वेशभूषा दिपसना विश्वकर्मा, ध्वनि परिचालन रञ्जु दाहाल, प्रकाश परिचालन अनुशा परियार, बक्स अफिस सीता राना, पोस्टर डिजाइन दयाराज ढुङ्गाना, मञ्च निर्माण सन्देश कार्की, मञ्च सामग्री पासाङल्हामु शेर्पा, बजार व्यवस्थापन प्रकाश पराजुली र असारे गीत हरिदेवी कोइरालाको रहनेछ। 

यस्तै जनक पराजुली, रोशनी रामदाम, रवीन्द्र मल्ल, पासाङल्हामु शेर्पा, सोनिया कार्की खत्री, सन्देश कार्की, गोपाल भुसाल, दिपसना विश्वकर्मा, धनकाजी श्रेष्ठ, सुशील बराल, सरोज तिवारी, अमृत रानामगर, अञ्जु दाहाल, अमृत रानामगरलगायतको अभिनय नाटकमा रहेको छ।