• १४ वैशाख २०८१, शुक्रबार

पीएम कप क्रिकेट

प्रदेश–१ सँग बागमती स्तब्ध

blog

बागमतीलाई हराएपछि प्रदेश–१ का खेलाडी । तस्बिर : क्यान

काठमाडौं, कात्तिक १५ गते । अङ्कित सुवेदीले सतकीय इनिङ्स खेलेपछि प्रदेश–१ ले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशमाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा प्रदेश–१ ले बागमती प्रदेशलाई ६९ रनले हरायो । 

प्रदेश–१ ले दिएको तीन सय पाँच रनको विजयी लक्ष्य पछ्याएको बागमती ४५.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३५ रनमा समेटिएको थियो । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाउनुभयो । 

ओपनर ईशान पाण्डेले ३५, रामनरेश गिरिले अविजित २८, कप्तान ज्ञानेन्द्र मल्लले २७, दुर्गेश थापाले २६, आशुतोष घिरैयाले १४ र प्रतिष जिसी १२ रन बनाउनुभयो । बलिङमा प्रदेश–१ का सर्वन यादवले तीन विकेट लिनुभयो । 

फिर्दोस अन्सारी, दीपक जोशी र कप्तान सिद्धान्त लोहनीले दुई दुई तथा लुभ कामतले एक विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा तीन सय चार रन बनाएको थियो । 

प्रदेश–१ का लागि अङ्कित सुवेदीले एक सय १० रनको सतकीय इनिङ्स खेल्नुभयो । उहाँले एक सय ३४ बलमा १२ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनु भएको हो । अङ्कित ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । कप्तान सिद्धात लोहनीले ७२ रन बनाउनुभयो । 


यस्तै विवेक आनन्द मेहेताले ३०, सोनु अन्सारीले १९, श्रवण यादवले ११, निरज मुखियाले १० र फिर्दोश अन्सारीले अविजित १० रन जोड्नुभयो । बलिङमा बागमतीका रामनरेश गिरिले पाँच विकेट लिनुभयो । नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र ईशान पाण्डेले एक एक विकेट लिनुभयो । 

पहिलो जितसँगै प्रदेश–१ ले दुई खेलबाट दुई अङ्क बनाएको छ । प्रदेश–१ दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेलेको बागमतीले अङ्कको खाता खोल्न सकेको छैन । शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लबको चार अङ्क छ । 

कात्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश  र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । 

यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २० हजार र इमर्जिङ प्लेयरलाई १० हजार रुपियाँ प्रदान गरिने पनि क्यानले जनाएको छ ।