रमेश विश्वकर्मा
गुल्मी, फागुन २६ गते। गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ। जिल्लाका दुवै निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिँदा घण्टी चुनाव चिन्ह भएको रास्वपा पहिलो बनेको हो।
दोस्रो नेकपा एमाले, तेस्रो नेपाली कांग्रेस, चौथो नेपाली कम्युनिस्ट पार्टी, पाँचौँ राष्ट्रिय जनमोर्चा, छैठौँ राष्ट्रिय प्रजातन्त्र पार्टी र सातौं श्रम संस्कृति पार्टी बनेको छ। रास्वपाले ५१ हजार ८४८ मत, नेकपा एमालेले २८ हजार ४४५ मत, नेपाली कांग्रेसले २५ हजार २९१ मत प्राप्त गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले पाँच हजार ७८५ मत, राष्ट्रिय जनमोर्चाले एक हजार २८७ मत, राप्रपाले एक हजार ८५ मत र श्रम संस्कृति पार्टीले ९३४ मत गरेको छ।
क्षेत्र नम्बर–१ मा रास्वपाले ३० हजार ६५७ मत, एमालेले १४ हजार १३० मत, कांग्रेसले १२ हजार ७३१ मत, नेकपाले तीन हजार ३३ मत, राजमोले ८९६ मत, श्रम संस्कृति पार्टीले ७४८ मत र राप्रपाले ६०७ मत प्राप्त गरेको हो। कुल एक लाख २२ हजार १८६ मतदाता रहेको यस क्षेत्रमा जम्मा ६४ हजार ९२१ मत खसेको थियो। जसमा ६३ हजार ५४६ मत सदर भएको थियो भने एक हजार ३७५ मत बदर भएको थियो। यहाँ प्रत्यक्षतर्फ रास्वपाका सागर ढकाल विजयी हुनुभयो।
क्षेत्र नम्बर–२ मा रास्वपाले २१ हजार १९१ मत, एमालेले १४ हजार ७१५ मत, कांग्रेसले १२ हजार ५६० मत, नेकपाले दुई हजार ७५२ मत, राप्रपाले ४७८ मत, राजमोले ३९१ र श्रम संस्कृति पार्टीले १८७ मत प्राप्त गरेको छ। अस्थायी मतदाता २२८ सहित कुल एक लाख सात हजार ५९१ मतदाता रहेको रहेको यस क्षेत्रमा जम्मा ५४ हजार ७०४ मत खसेको थियो । जसमा ५३ हजार एक मत सदर भएको थियो भने एक हजार ७०३ मत बदर भएको थियो। यहाँ प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी विजयी हुनुभयो।