• ११ मंसिर २०८१, मङ्गलबार

भीरमह काढ्ने मौसम सुरु

blog

बेलिना थापा 

लमजुङ, कात्तिक १५ गते । लमजुङको ग्रामीण भेगमा भीरमह सिकारको मौसम सुरु भएको छ। भीरमहको सिकार पर्यटन प्रवद्र्धनका लागि आकर्षक मानिएको छ। 

गाउँपिच्छे फरक–फरक भीरमा मह सिकार गर्ने प्रचलन छ। सामुदायिक रूपमा भीरमह सिकार गर्ने यहाँको पुरानै परम्परा हो। गाउँहरूले मिलेर भीरमह सिकार गरी आपसमा बाँड्ने गरिन्छ। 

मस्र्याङ्दी गाउँपालिका–२, उपल्लो घनपोखराको थाम्रो भीरमा मह सिकारको तयारी गरिएको छ, सो काममा युवा सक्रिय छन्। विगतका वर्षझैँ यस वर्ष पनि सिकार गर्न आफूहरू तयार भएको मह सिकारी ३५ वर्षीय भक्तबहादुर गुरुङले बताउनुभयो। 

उहाँका अनुसार गाउँबाट करिब एक घण्टामा पुग्न सकिने भीरमा डोरी राखेर झुन्डिएर मह सिकार गरिन्छ। उक्त भीर उपल्लो घनपोखरामा पर्दछ। करिब ७० घर रहेको यस गाउँका स्थानीयवासी मिलेर मह सिकार गर्ने उहाँले बताउनुभयो। 

मह सिकारका लागि मुख्य सिकारी ७० वर्षीय काशीप्रसाद गुरुङसँगै भक्तबहादुर गुरुङ, ३६ वर्षीय बुद्धिबहादुर गुरुङ, ३८ वर्षीय रुद्रबहादुर गुरुङ र ३० वर्षीय नन्दलाल गुरुङ र साथमा अन्य स्थानीय युवा पनि खटिनेछन्। यस वर्ष कात्तिक ३० गतेबाट मह सिकार गर्ने योजना रहेको भक्तबहादुर गुरुङले बताउनुभयो। 

मह सिकारी भक्तबहादुरले १३ वर्षदेखि भीरको मह सिकार गर्दै आउनुभएको छ। गुरुङ समुदायले परापूर्वकालदेखि गर्दै आइरहेको यो पेसा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बन्दै गएको छ। 

“यो पेसा अरू ठाउँमा हराउँदै गए पनि घनपोखरामा भने अझै जीवितै राखेका छौँ,” उहाँले भन्नुभयो, “आफ्नो जुजुबाजेले गरेको कामलाई जोगाइराख्न र आन्तरिक तथा वैदेशिक पर्यटकलाई भिœयाउने उद्देश्यले यो पेसाको संरक्षणमा लागेका छौँ।”

अर्का युवा नन्दलाल गुरुङले आठ वर्षदेखि भीरमहको सिकार गर्दै आएको बताउनुभयो। मह सिकार आफ्नो परम्परा भएकाले यसको संरक्षणमा युवा लागिपरेको बताउनुभयो। हराउँदै गएको परम्पराको संरक्षणका लागि युवा एकजुट भएको उहाँको भनाइ छ। सदाको वर्षजस्तै यस वर्ष पनि भीरमौरीको मह सिकारको समय सुरु भएको स्थानीयवासीले बताएका छन्। भीरमौरीको मह सिकार हरेक वर्ष (वर्षको दुई सिजन) कात्तिक र मङ्सिर अनि वैशाख र जेठमा हुने गरेको छ। 

छङ्गाछुर भीरमा निगालोको चोयाबाट निर्मित काठ राखेर बनाइएको डोरी (प्रों)मा झुन्डिएर मह काढिन्छ। ज्यानको बाजी राखेर परम्परागत तवरबाट मह काढिने गरिन्छ। यो साहसिक कार्यका लागि स्थानीय जुटेका छन्। मह सिकार हरेक वर्ष पाँच लाख रुपियाँ बराबरको गरिन्छ। 

घनपोखरा गाउँमा हरेक वर्ष मह सिकार हेर्नका लागि देश विदेशका पाहुना आउने गर्छन्। यसरी आउने पर्यटकसँग घनपोखरा गाउँका मह सिकार गर्ने टोलीले केही शुल्क लिएर उनीहरूको समयअनुसार मह सिकार गर्ने र सो स्थानसम्म पु¥याई मह सिकार गरेर देखाउने गरिएको छ। 

कात्तिक ३० गते काठमाडौँबाट एक टोली मह सिकार हेर्नका लागि आउने भक्तबहादुर गुरुङले बताउनुभयो। यसरी हेर्न आउने पर्यटकले मह सिकारसँगै मह प्रशोधनसँगै मह खरिद गरेर लैजाने अपेक्षा गरिएको छ। 

गाउँका मुखिया नन्दबहादुर गुरुङ कात्तिक ३० देखि मङ्सिर १५ सम्म पर्यटकको समयअनुकूल मह सिकार देखाउन सकिने बताउनुहुन्छ। आफूहरू एक लोपोन्मुख संस्कृति र साहसिक कलाको संरक्षणमा लागिरहेको भनाइ उहाँको छ।

भीरमौरीको एक माना मह एक हजार दुई सय रुपियाँसम्ममा बिक्री हुन्छ। साबिक घनपोखरा पाँच गाउँ मिलेर बनेको छ। यहाँ उपल्लो घनपोखरा, तल्लो घनपोखरा, घिम्राङ, नाँयु, करेगाउँ समावेश छन्। सबै गाउँको आआफ्नै मह भीर छन्। 

मह सिकारीका गुरु काशीप्रसाद गुरुङका अनुसार परम्परादेखि गुरुङ गाउँमा भीरमह सिकार हुँदै आएको छ। 

भीरमह स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार ढाड दुख्ने, गोलीगाँठा दुखेमा र सर्दीगर्मी नमिलेमा मह खाइन्छ।

मस्र्याङ्दी गाउँपालिका–२ का अध्यक्ष चेतबहादुर गुरुङ (शङ्कर)का अनुसार स्थानीयवासीले बर्सेनि दुई पटक भीरमह सिकार गर्छन्। जिल्लाको स्याँगे, नाइँचे, भुजुङ, सिउरुङलगायतका ठाउँमा भीरमह सिकार हुँदै आएको छ।