• २१ वैशाख २०८१, शुक्रबार

सूर्यको उपासनासँग जोडिएको छठपर्वको उल्लास (फोटो फिचर)

blog

तस्बिर : मनोजरत्न शाही

काठमाडौं, कात्तिक १३ गते । कात्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ सुरु भएको मानिन्छ । दशैं र तिहारपछि मनाइने छठपर्व सूर्यको उपासना गरी मनाउने परम्परा छ । बिहानै उठेर सरसफाइ गरी, चोखो पानीले नुहाइ सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्छन् । छठ नेपाल र भारतका उत्तरी क्षेत्रका हिन्दूहरूले मनाउने विशेष पर्व हो । 

छठमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने चलन छ । संस्कृतिविद् ओम धौबडेलका अनुसार छठ कात्तिक शुक्लखस्तीको दिन मनाउने पर्व हो । 

तराईमा खस्ती शब्द अपभ्रंश भएर छठ भएको उहाँको भनाइ छ । यस पर्वमा फलफूल र मिठाइको बढी प्रयोग हुने गर्छ । “जाडो मौसम सुरु हुँदैछ, जाडोको समयमा आफू पानीभित्र सूर्य देवताको आराधना गर्दै जल चढाउने परम्परम रहेको छ” उहाँले भन्नुभयो, “यो प्रकृतिसँग जोडिएको छ । जाडो मौसम आफ्नो शरीरले धान्न सकोस् र चिसोबाट आफू जोगिन वा छल्न सकोस् भनेर पनि याे पर्व मनाएको पाइन्छ ।” 

संस्कृतिविद् धौबडेलका अनुसार छठपर्वलाई एक राष्ट्रिय पर्वका रुपमा लिन सकिन्छ । “हामी सम्पूर्ण नेपाली साझा फूलबारी हौं, हामी सबैले  मनाउने पर्वको उत्तिकै महत्व छ । तिहार लगत्तै छठपर्व आउने कारणले छठले चिसो मौसमलाई आमन्त्रण पनि गरेको भन्न सकिन्छ” , उहाँले भन्नुभयो । 


यस्तै, नेपालको तराई (मधेश) क्षेत्रमा छठपर्व विशेष श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाउने परम्परा चल्दैआएको छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गर्ने गरिन्छ । शुद्ध मनले छठपर्वमा सूर्यको आराधना गर्दा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने मान्यता रहेको संस्कृतिविद् धौबडेलले बताउनुभयो ।  


उहाँका अनुसार संस्कार सुरु भएदेखि सूर्यको आराधना गर्दै छठपर्व मनाउने गरेको पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको पुराणमा उल्लेख रहेको उहाँको भनाइ छ ।