• ८ वैशाख २०८१, शनिबार

पीएम कप : एपीएफको विजयी सुरुवात

blog

उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै एपीएफ र आर्मीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, कात्तिक १३ गते । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ५ रनले हरायो ।

एपीएफले दिएको दुई सय २० रनको विजय लक्ष्य पछ्याएको आर्मी ३२.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६३ रनमा समेटिएको थियो । आर्मीका लागि हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरै अङ्कमा रन बनाउन सक्नुभएन ।


बलिङमा एपीएफका अमर रौटेलाले चार विकेट लिनुभयो । कमल ऐरीले तीन तथा किशोर महतोले दुई विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १९ रन बनाएको थियो । 

एपीएफका लागि प्रदिप ऐरीले ७१ र सन्दीप जोराले ५० रन बनाउनुभयो । भुवन कार्कीले २६, कप्तान शरद भेषवाकरले १६ र अमर रौटेलाले अविजित १० रन बनाउनुभयो । बलिङमा आर्मीका विक्रम सोबले चार विकेट लिनुभयो ।

साहब आलम र कुशल मल्लले दुई दुई विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ । आर्मीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । कात्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश  र तीन विभागीय गरी १० टोलीको सहभागिता रहेको छ ।


सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीलई ५० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २० हजार रुपियाँ प्रदान गरिने छ । इमर्जिङ प्लेयरलाई १० हजार र हरेक खेलको ‘म्यान अफ दि म्याच’ लाई पाँच हजार रुपियाँ प्रदान गरिने भएको छ ।

क्यानका अनुसार एक करोड ५० लाख रुपियाँ लगानी रहेको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख रुपियाँ उपलब्ध गराउने छ । प्रतियोगिताको राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो ।