• १० मंसिर २०८१, सोमबार

श्वेतभैरवको नृत्य प्रदर्शन

blog

उपेश महर्जन

ललितपुर, कात्तिक १३ गते। गोदावरी नगरपालिका–१२, ठेचोमा १२ वर्षपछि लक्ष्मीपूजाको दिनमा श्वेतभैरवको नृत्य प्रदर्शन गरिएको छ। नवदुर्गा गणअन्तर्गतको श्वेतभैरव यसअघि २०६७ सालमा नचाइएको थियो। 

नवदुर्गाको १२ वर्षे जात्रामा मनाइने २८ वटा पर्वमध्ये श्वेतभैरव नाच मुख्य मानिन्छ। यो नाचलाई स्थानीय भाषामा ‘आंग खः प्याखँ’ भनिन्छ। आंग भन्नाले तन्त्रमार्गीहरूले गुप्त रूपमा देवता स्थापना गरिएको घर र खःको अर्थ डबली र प्याखँको नाच हो। आंगलाई इष्टदेवता अथवा मुख्य देवताका रूपमा लिइन्छ। ठेचोको नवदुर्गा नाचका नाइके भक्तलाल माली भन्नुहुन्छ, “आंग भन्नाले ज्ञानको स्रोत पनि हो। यो नाच नवदुर्गाको उत्पत्तिसँग जोडिएको छ।” 

उहाँका अनुसार श्वेतभैरवलाई मुहा पुरुष ‘सिद्धबाबा’का रूपमा लिइन्छ। “नवदुर्गा गण उत्पत्तिमा उहाँको महत्वपूर्ण भूमिका छ,” उहाँले भन्नुभयो, “यो नाच प्रदर्शन सम्पन्न नगरेसम्म बुङ्मतीलगायत ठाउँमा पनि नचाइने १२ वर्षे नृत्य प्रदर्शन गर्न मिल्दैन।”

किंवदन्तीअनुसार वृन्दावनमा सिद्धबाबाको आश्रम थियो। बाबाले आश्रममा नरबलि दिने गर्नुहुन्थ्यो। नरबलि चढाउन आश्रममा पालेको व्यक्ति राजकुमार भन्ने कुरा बाबालाई थाहा थिएन। बाबाद्वारा कहिल्यै नखोलिएको कोठा एक दिन राजकुमारले अनौठो लागेर खोल्न पुगेछन्। कोठाभित्र छिर्नेबित्तिकै त्यहाँ बलिपछि झुन्ड्याइएका टाउकाहरू हाँस्न थाल्छन्। राजकुमारले हाँस्नुको कारण सोध्छन्। ती काटिएका टाउकाले मुक्ति पाउन बाबाको बलि चढाउन निर्देशन दिन्छन्। राजकुमारले चलाखीपूर्ण ढङ्गले बाबाको बलि चढाएपछि नवदुर्गाको उत्पत्ति हुन्छ। नाइके माली भन्नुहुन्छ, “उक्त सिद्धबाबा निःसन्तानहरूलाई सन्तान दिन सक्ने खुबी भएको कानफट्टा जोगीका रूपमा लिइन्छ। त्यसैले श्वेतभैरव दर्शन पाउने पहिलो व्यक्तिलाई ३२ प्रकारले लक्षणयुक्त सन्तान लाभ हुने जनविश्वास छ।”

श्वेतभैरव प्रदर्शन गराउनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी ठेचो पुगेर नवदुर्गाको पूजा गर्नुभएको थियो। नवदुर्गाको ‘धुखः’ नामक नाच नचाइएपछि साउन १० गते घण्टाकर्ण चतुर्दशीबाट सुरु भएको १२ वर्षे जात्रा सम्पन्न हुनेछ। 

धुखः नाच फागुन/चैततिर नचाउने चलन छ। जात्रा सम्पन्न भएपछि ठेचो बस्तीमा लगाइएका बन्देज फुकुवा हुनेछन्। अहिले ठेचोमा नवदुर्गा गुठीको बाजाबाहेक अन्य बाजा, घण्टा, सिट्टी, ताली बजाउन, खुट्टा झुन्ड्याएर बस्न, बिहे, भोजभतेर, व्रतबन्ध गर्न, राति हिँडडुल र ‘रातमा पाहुना बस्न’ निषेध छ।