• १३ असोज २०८१, आइतबार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

blog

बारा, कात्तिक १२ गते । हात्तीको आक्रमणबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जकी ५१ वर्षीया रुगैदा खातुन हुन् । 
उहाँको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रक्तस्राव बढी भएका कारण उहाँको मृत्यु भएको चिकित्सकले बताएका छन् । बाख्रा चराउन जङ्गल गएकी खातुनलाई कात्तिक १० गते दिउँसो अमलेखगन्जस्थित नेपाल आयल निगम अगाडि रहेको पार्किङ् नजिकको जङ्गलमा हात्तीले आक्रमण गरेको थियो । मृतकको घाँटी र खुट्टामा चोट लागेको थियो । 
यसैगरी बाराको पथलैयामा मोटरसाइकलसँग बस ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार आमाको मृत्यु, छोरा घाइते भएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा दुर्घटना हुँदा हेटौँडा उपमहानगरपालिका–१६ हटिया टोलकी ४५ वर्षीया होमाकुमारी मगरको मृत्यु भएको हो । दुर्घटनामा उहाँको २० वर्षीय छोरा पुजल थापा मगर घाइते भएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते होमाकुमारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा मोटरसाइकल चालक पुजलको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 
पूर्वबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट आई रहेको ना ५ ख ५८०५ नम्बरको बससँग शुक्रवार साँझ साढे ३ बजे ठोक्किँदा दुर्घटना भएको तथा प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
Author

शिवशङ्कर मिश्र