• १८ कात्तिक २०८१, आइतबार

जैमिनिको महिमा

blog

कालीगण्डकीको किनारा प्राचीनकालदेखि नै चिन्तनहरूको उर्वर भूमि भएको मानिन्छ । बागलुङ सदरमुकामको दक्षिणतिर पहाडी भेगमा पर्ने जैमिनि नगरपालिकाको वडा नं. १ मा कालीगण्डकीको काखमा जैमिनि क्षेत्र रहेको छ । कुल ९.७६ वर्ग किलोमिटरमा फैलिएको कुस्मिसेराबाट बग्ने ठेउले खोला (कसैकसैले ठुलो खोला पनि भन्छन्) को पुछार र कालगण्डकी नदीको किनारमा जैमिनि क्षेत्र अवस्थित छ । जैमिनि क्षेत्र धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले आस्थाको धरोहर हो । यसैको नामबाट जैमिनि नगरपालिका नामकरण भएको छ । नगरपालिका अन्तर्गत, कुस्मिसेरा–१ मा पर्ने कालीगण्डकी आसपासको क्षेत्रलाई स्थानीय बासिन्दा जैमिनिघाट भनेर सम्बोधन गर्छन् । 

जैमिनिघाटका दक्षिणतिर कालीनदी बगिरहेको छ भने उत्तरतिरबाट ठेउले खोला बग्दै आएको छ । उक्त स्थानबाट उत्तरतर्फ लाग्दा कुस्मिसेराको टुनीबोट पुगिन्छ भने दक्षिणतिर अवस्थित कालीनदीको पुल तरेर पर्वतको फलेबास पुगिन्छ । जैमिनिघाटबाट कालीगण्डकी कोरिडोर हुँदै उत्तरमा मुक्तिनाथ र कोरला नाकासम्म, दक्षिणमा रूरू क्षेत्र हुँदै सुनौलीसम्म पुग्न सकिन्छ । पूर्वतिरको भूभागमा बागलुङ नगरपालिका–१२ अन्तर्गत सरङ्गी र पश्चिमतिर जैमिनि नगरपालिकाको बिनामारे/थन्थाप अवस्थित छ । यहाँबाट पर्यटकीय महत्त्व बोकेको स्याङ्जाको पन्चासे, सिरुबारी, डहरे देउराली, बागलुङको बलेवा भैरवस्थान, हाँडीकोट, गाजाको दहलगायत स्थानमा पुग्न सकिन्छ । 

कालीगण्डकीकै पश्चिमतिरबाट करिडोर राजमार्ग बनाइएका कारण जैमिनि क्षेत्रसम्मको पहुँच विस्तारमा थप टेवा दिएको छ । बागलुङको दक्षिण भेकमा रहेको समथर ठाउँमा जैमिनि घाट अवस्थित छ । पवित्र कालीगण्डकीको किनारमा रहेको जैमिनि वेदव्यासका शिष्य जैमिनि ऋषिले करिब २१ सय वर्षअघि योगसाधना र तपस्या गरेको पूर्वीय विभिन्न दर्शन र मिमांसाहरूमा पाइन्छ । पूर्वीय विद्वान्हरूले महर्षि जैमिनिको समय इपु ९००–६०० रहेको अनुमान गरेका छन् । महर्षि जैमिनिको नामबाट जैमिनि नगरपालिकाको नामकरण भएको हो । 

जैमिनि हुँदै निर्माण भइरहेको कालिगण्डकी कोरिडोर सडक दक्षिणमा भारत र उत्तरमा चीनसँग जोडिएका कारण विशेष महत्व राख्दछ । जैमिनि क्षेत्रलाई स्थानीय भाषामा ‘ज्यामिर घाट’ ले पनि सम्बोधन गरिन्छ । ज्यामिर शब्द पनि जैमिनि शब्दबाट नै अपभ्रंश भएर बनेको हो । कुनै फल विशेषका नामबाट यस ठाउँको नाम रहन गएको होइन । जैमिनिघाट सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र पनि हो । यो ठाउँ पञ्चायतकालमा अमलाचौर गाउँ पञ्चायतबाट शासित थियो । पछि आएर र प्रजातान्त्रिककालमा तत्कालीन कुस्मिसेरा गाविसमा समावेश गरियो । हाल गण्डकी प्रदेश, बागलुङ जिल्ला, जैमिनि नगरपालिका वडा नं. १ मा जैमिनि क्षेत्र पर्दछ । वेदव्यासका शिष्य जैमिनिको नामबाट यस ठाउँको नाम रहन गएको हो । महाभारतमा उल्लेख भए अनुसार उहाँले व्यासबाट शास्त्रीय ग्रन्थहरूको अध्ययन गरेको खुल्न आउँछ । उहाँले लेख्नुभएका सात कृतिमध्ये मीमांसा सूत्र प्रमुख दार्शनिक कृति हो । 

ऋषि जैमिनिका नामबाट यस ठाउँको नामकरण गरिएको हो । यो ठाउँ आर्य एवं अनार्य जातिहरूको अन्तिम संस्कार गरिने ठाउँ भएको हुनाले घाटका रूपमा बढी परिचित छ । घाट शब्दको अभिधार्थ अन्तिम संस्कार गरिने ठाउँ विशेष भए पनि यसको व्यञ्जनार्थ भने पवित्र धार्मिक तीर्थस्थल पनि हो ।

भनिन्छ, जैमिनि ऋषिले यही ठाउँमा बसेर ‘मीमांसा सूत्र’ लेख्नुभएको थियो । जैमिनिले यस ठाउँमा यज्ञयज्ञादिसमेत गर्नुभएको थियो । उहाँले सयौँ गाई पालन गरी गोसेवा पनि गर्नुभयो । जैमिनिले यहीँबाट आफ्ना शिष्यहरूलाई पूर्वीय अध्यात्म विद्याको ज्ञान प्रदान गरेको भनाइ छ । ऋषि जैमिनिका नामबाट यस ठाउँको नामकरण गरिएको हो । यो ठाउँ आर्य एवं अनार्य जातिहरूको अन्तिम संस्कार गरिने ठाउँ भएको हुनाले घाटका रूपमा बढी परिचित छ । घाट शब्दको अभिधार्थ अन्तिम संस्कार गरिने ठाउँ विशेष भए पनि यसको व्यञ्जनार्थ भने पवित्र धार्मिक तीर्थस्थल पनि हो । यस क्षेत्रमा विविध किसिमका धार्मिक र ऐतिहासिक स्थानहरू रहेका छन् । जसको परिचय क्रमशः प्रस्तुत गरिएको छ : 

जैमिनिश्वर महादेव

जैमिनि क्षेत्र पौराणिककालीन समयदेखिकै प्रख्यात धार्मिक केन्द्र रहेको कुरा निर्विवाद स्थापित भइसकेको छ । यसमा रहेको जैमिनिश्वर महादेवको मन्दिर कडा चट्टानमाथि अवस्थित छ । स्थानीय अग्रज शिक्षासेवी कीर्तिनाथ शर्मा (हाल चितवन) का अनुसार जैमिनिश्वर महादेवका रूपमा परापूर्वकालदेखि पूजाआजा गरिँदै आएपछि मन्दिरको स्थापना भने विसं १९९० को आसपास स्थापना भएको थियो । पछि २०१६ सालमा आएर जीर्णोद्धार गरियो । जनश्रमदानबाट वर्तमान अवस्थाको संरचना निर्माण हुँदै मन्दिरको स्वरूपमा परिवर्तन हुँदै आयो । मन्दिरको स्थापना, रेखदेख, जीर्णोद्धार, पूजाआजालगायत कामका लागि स्थानीय अमलाचौर जिमिरेनिवासी चक्रपाणि शर्माको महत्वपूर्ण योगदान रहेको शर्माले जानकारी दिनुभयो । धर्मसेवी चक्रपाणि शर्माले मन्दिरको पूजाआजा सञ्चालन र पूजारीको भरणपोषणका लागि साबिकको बिनामारे गाविसमा गुठीका रूपमा धान फल्ने खेतको व्यवस्था गर्नुभएको थियो । मन्दिरको स्थापना भएको करिब ९१ वर्ष भए पनि यसको पौराणिककालीन महत्व ठुलो छ । यही शिवालय भएको ठाउँमा लङ्कापति रावणले समेत तपस्या गरी वाक्सिद्धि प्राप्त गर्नुभएको थियो भन्ने किंवदन्ती पनि छ । मन्दिरको दायाँबाट बगिरहेको ठेउले खोलालाई प्राचीन समयमा स्वर्णनदी पनि भनिने गरिएको बुढापाकाहरू बताउनुहुन्छ । जे होस्, जैमिनि ऋषिको तपस्या स्थलका रूपमा परिचित यस क्षेत्रको नामकरण पनि उहाँकै नामबाट रहन गएको हो । यहाँ रहेको मन्दिर करिब शताब्दी पुरानो हो तापनि यसको धार्मिक महत्त्व भने इसापूर्वभन्दा पहिलैदेखि नै रहिआएको विश्वास गरिन्छ । यस आधारमा यस जैमिनि क्षेत्र पौराणिक र ऐतिहासिक दृष्टिले बढी विशिष्ट रहेको छ । 

शङ्खशिला नागशिला 

उत्तरतर्फ जलले छुने गरी शङ्खशिला अवस्थित छ । यसमा शङ्खको जस्तो प्वाल रहेको छ । यसलाई शङ्ख बजाउन जान्नेले बजाउँदा शङ्खकै जस्तो ‘नाद’ निस्किन्छ । यो शिला सत्ययुगमा दिनमा र रातमा आफैँ बज्ने, त्रेता युगमा रातमा मात्र आफैँ बज्ने, द्वापर र कलियुगमा मानिसले बजाउनु पर्छ भन्ने किंवदन्ती पनि छ । शङ्खशिलातिर मृतकको शिर फर्काएर दाहसंस्कार गरियो भने बन्धनमुक्त (मोक्ष) भइन्छ भन्ने जनआस्था रहेको छ । यस शिलालाई मृत्युको प्रतीकका रूपमा हेरिँदै आएको पनि देखिन्छ । 

पवित्र कालीगण्डकीको किनारमा रहेको जैमिनि वेदव्यासका शिष्य जैमिनि ऋषिले करिब २१ सय वर्षअघि योगसाधना र तपस्या गरेको पूर्वीय विभिन्न दर्शन र मिमांसाहरूमा पाइन्छ । पूर्वीय विद्वान्ले महर्षि जैमिनिको समय इपु ९००–६०० रहेको अनुमान गरेका छन् ।

ताम्रशिला 

शङ्खशिलाको पश्चिम दिशापट्टि पहराको आडमा जैमिन शिला (ताम्रशिला) छ । चकटी वा आसनको आकारमा रहेको यसै शिलामा बसेर जैमिनि ऋषिले तपस्या गर्नुभएको अनुमान इतिहासकारहरूले गरेका  छन् । उक्त शिला जैमिनि गुफाको नजिक भएको हुनाले पनि यसै शिलामा जैमिनिले तपस्या गर्नुभएको भन्ने तर्क बढी ओजपूर्ण रहको देखिन्छ । 

नागशिला 

जैमिनि गुफाको छेउमा अलिकति माथिपट्टि नागशिला अवस्थित छ । कालीगण्डकीको पानीले छाँटेर चिप्लो बनाएर छाडेको शिलाको बिचभागमा नागको सेतो आकृतिसहितको धर्सा स्पष्ट देख्न सकिन्छ । नागशिला नामकरण योगी नरहरिनाथले गर्नुभएको हो । हाल भने सडक निर्माणका क्रममा नागशिला माटोले पुरिएको अवस्थामा छ ।  

देवशिला 

शिवालयको सामुन्नेमा देवशिला रहेको छ । यो कालीगण्डकीको जलले घेरिएको अवस्थामा छ । यस शिलासम्म पुग्नका लागि पौडेर जानु पर्छ । पौडी खेलेर शिलासम्म पुग्न सक्ने व्यक्तिलाई फलिफाप मिल्ने जनविश्वास छ । यस शिलालाई जीवनमा एक पटक स्पर्श गरी परिक्रमा गर्नु पर्छ भन्ने मान्यता छ । 

गुफा 

ताम्रशिलाको उत्तरतिर पहरामा जैमिनि ऋषि बसेको अनुमान गरिएको गुफा रहेको छ । गुफाको भित्री भागमा पूजामण्डप पनि छ । पूजामण्डपमा कालीगण्डकी नदीमा पाइने शालिग्रामको सङ्ग्रह गरिएको छ । त्यसै शिलामा विष्णु भगवान्को पूजा आराधना गरिन्छ । त्यसै गुफाको अगाडि नागशिला रहेको छ । शङ्खशिला, देवशिला, नागशिला र ताम्रशिला वर्षायाममा कालीनदीको गर्भमा हुन्छन् भने गुफा नदीबाहिरै रहन्छ । प्राचीन समयमा योगी, तपस्वी, साधक र ज्ञानीहरू बसी योगसाधना गर्ने यहाँको गुफा पछि आएर रातिमा मुर्दा कुर्ने, मलामी बस्ने र फक्कडहरूले अड्डा जमाउने स्थानमा रूपान्तरण हुँदै गएको अवस्था  छ । 

प्राचीन मन्दिर 

शिवालयको पारिपट्टि, कालीगण्डकीको दक्षिण पश्चिममा ठेउले खोलाको किनार, जहाँ अर्को प्राचीन शिव मन्दिर रहेको छ । यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएकाले प्राचीन रहेको प्रमाण मिल्छ । साविक बिनामारे गाविसको पुछारमा आँपको बगैँचाको बिचमा मन्दिर अवस्थित छ । यो मन्दिरको स्थापना कहिले भएको हो भनेर प्रामाणिक खोज अनुसन्धान हुन बाँकी छ । काठमाडौँका दिलानन्द पाण्डे आएर यस मन्दिरको स्थापना गरी बगैँचा बनाई गुठीको समेत प्रबन्ध गरेको बुढापाकाको भनाइ छ । 

स्वर्गको प्रतीक तोरण 

शिवालयदेखि उत्तरतर्फ गण्डकी नदीको किनारमा हरिशयनी एकादशी, बालचतुर्दशी (शतबीज छर्ने) र माघेसङ्क्रान्तिका अवसरमा २०४३ सालसम्म दुई रात दुई दिनसम्म ठुलो मेला लाग्ने गर्दथ्यो । यस्ता मेलापर्वमा कालीगण्डकी माथि तोरण तार्ने प्रचलन रहेको छ । धार्मिक विधि अनुसार तोरणको पूजा गरेपछि नदीमा पौडिएर सुथरी (मसिनो डोरी) तार्ने मानिसको पनि पूजा गरिन्छ । सुथरी तारिसकेपछि त्यही सुथरीमा बाँधेर तोरणलाई नदीपारि पुर्‍याउने गरिन्छ ।  यसरी तोरण तार्दा स्वर्गमा पुगिने धर्मानुरागीहरूको विश्वास रहेको छ । ठुलो र चिसो नदीमा पौडिएर तोरण तर्दा मानवीय क्षति हुन थालेपछि वर्तमान समयमा पुलबाटै तोरण तारिन्छ । यसरी तोरण तार्दा पन्चेबाजा बजाएर नगरा लाउने र भक्तका घरबाट डोलीमा तोरण राखी नदीसम्म पुर्‍याउने चलन पनि छ । 


यसरी धार्मिक, पौराणिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्व बोकेको यस धार्मिक ठाउँको सम्पदा लोप हुन लागेकोमा धर्मानुरागीहरूले गहिरो चिन्ता प्रकट गर्दै आएका छन् । २०४८ सालमा जैमिनि क्षेत्रमा लाग्ने माघेसङ्क्रान्ति मेलाको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक ज्ञानेश्वर वैद्यको हत्या भएपछि जैमिनि घाटमा मेला लाग्न छाड्यो । त्यसपछि किसानहरूले पनि खेतमा हिउँदेबाली लगाउन थाले । जैमिनि घाटमा बन्द भएको माघेसङ्क्रान्ति मेला हाल सहारा क्लब कुस्मिसेराको व्यवस्थापनमा अर्को संस्करणका रूपमा कुस्मिसेरा बजारको पारिपट्टि ठेउले र टिमुरे खोलाको सङ्गमस्थल दुर्लिबेँसीको चौरमा लाग्ने गरेको छ । वर्तमान समयमा यस मेलालाई परिमार्जन गरी जैमिनि महोत्सव नामकरण गरिएको छ । यस महोत्सवमा धार्मिक पक्षलाई भन्दा आजभोलि सांस्कृतिक एवं व्यापारिक पक्षलाई बढी जोड दिएको पाइन्छ ।

जैमिनिश्वर महादेव मन्दिरको पारि बिनामारेको पुछारमा चाक्लो र बलौटे बगर छ । कालीनदीको यही सङ्गमस्थलमा समय समयमा महायज्ञ पनि भएको थियो । जस अनुसार योगी नरहरिनाथको संयोजन र कुस्मिसेराका राजनीतिकर्मी एवं समाजसेवी रत्नबहादुर केसीको अध्यक्षतामा प्रचारप्रसार एवं संस्कृत पाठशाला स्थापना गर्नका लागि २०४२ सालमा शिवपुराण महायज्ञ सञ्चालन भएको थियो । उक्त शिवपुराण महायज्ञ सञ्चालन गर्न टुनिवट निवासी अग्रज शिक्षासेवी शर्मा सचिव रही योगी नरहरिनाथको निर्देशन एवं अभिभावकत्वमा धार्मिक कार्य सम्पन्न भएको इतिहास छ । त्यसलगत्तै २०४४ सालमा हेमराज शर्माको अध्यक्षतामा धनधान्याचल भयो । त्यसपछि २०४६ सालमा आएर उमाकान्त सापकोटाको अध्यक्षतामा धनधान्याचल सम्पन्न भएको थियो । यहाँ शिवपुराण महायज्ञसमेत गरिएको थियो । योगी नरहरिनाथले धनधान्याचल, महायज्ञ, शिवपुराण जस्ता कामको आरम्भ गर्नुभएको थियो । नरहरिनाथको उपस्थिति र सुझबुझका कारण यस ठाउँको महत्वलाई जनस्तरसम्म पु¥याउन योगदान थपेको समाजसेवी केसीको भनाइ छ । योगी नरहरिनाथले धनधान्याचल र महायज्ञ लगाएको अभिलेख पशुपतिनाथ मृगस्थलीस्थित नरहरिनाथ सङ्ग्रहालयमा रहेको पुस्तिकामा समेत लिपिबद्ध गरी राखिएको छ ।

 केसीका अनुसार उक्त यज्ञमा सङ्कलन भएको दानदक्षिणा, धानलगायतका अन्नको सङ्कलन गरेर बचत भएको रकमबाट २०४२ सालमा ‘जैमिनि पाठशाला’ स्थापना भएको थियो । “यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई कम आकलन गर्न मिल्दैन । यसको भौतिक विकासमा ध्यान दिँदै संरक्षणमा पनि ध्यान दिनु आवश्यक छ,” केसी भन्नुहुन्छ, “यस क्षेत्रको प्राचीनता अनुसार यसको प्रचारप्रसार हुन पनि उत्तिकै आवश्यक छ ।”  पूर्वीय चिन्तन पढाउने मनसायबाट स्थापित उक्त पाठशालामा विद्यार्थी र भौतिक संरचनाको अभाव भएपछि केही दाताहरूको सहयोगमा हाल कुस्मिसेरा बजारको पारिपट्टि दमेक गाउँको शिवपुरीमा विद्यालयलाई स्थानान्तरण गरिएको छ । २०४८ सालको फागुनमा विद्यालय स्थानान्तरण हुँदा खरको छाप्रोको संरचना मात्र थियो । संस्कृत विद्यालयका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो उमाकान्त सापकोटा । उहाँको पहलमा पाठशालाको पुनर्निर्माण गरियो । संस्कृत पाठशालाका लागि पण्डित कृष्णप्रसाद रिजालले १२ आना जग्गा दान दिनुभयो । त्यसपछि केही रकमको जोहो गरी थप आठ आना जग्गा किनिएको थियो । 

पाठशालामा अध्ययन कक्ष, हरिहर मन्दिर (२०५३ सालमा स्थापित), पुस्तकालय, वाचनालय, भोजनालय र शौचालय जस्ता भौतिक संरचना निर्मित छन् । यसैको छेवैमा आयुर्वेद औषधालय पनि छ । स्थानीय पण्डित योगेश्वर शर्मा पाध्याका अनुसार आजको अवस्थामा यस पाठशालामा संस्कृत वाङ्मयका साथै अन्य आधुनिक विषयको पनि पढाइ हुने गरेको छ । संस्कृत पाठशालामा अध्ययन गर्ने विद्यार्थीले मासिक पाँच सय रुपियाँ छात्रवृत्तिसमेत पाउने गरेका छन् । विद्यार्थीका लागि संस्कृत विद्यालयमा आवास तथा भोजनको व्यवस्था मिलाइएको छ । त्यहाँबाट अध्ययन गरेका विद्यार्थीले विद्यावारिधि तहसम्म अध्ययन सम्पन्न गरिसकेका छन् । 

पौराणिककालीन भएर पनि जैमिनि क्षेत्रको उचित मात्रामा जगेर्ना गर्न भने सकिएको छैन । ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भने झैँ यस क्षेत्रको महत्त्वको मसिनो गरी अध्ययन अनुसन्धान हुन सकेको छैन । अझै यसको प्रचारप्रसार त भएकै छैन । बागलुङको मात्र नभएर देशकै पर्यटकीय गन्तव्य भन्ने चेतनाको विकास हुन सकेको छैन । संरक्षणका साथमा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माणमा पनि ध्यान दिन आवश्यक छ । बृहत् जैमिनि क्षेत्रको अवधारणाको विकास गरी स्थानीय जैमिनि घाट, सर्कुवाको टाकुरामा रहेको माईस्थान र बलेवाको सिरानमा अवस्थित कालभैरव मन्दिरको समानान्तर रूपमा विकास गर्ने परियोजना ल्याउन सके विकास र समृद्धिमा फड्को मार्न बेर लाग्दैन । 

तर यसका लागि जैमिनि नगरपालिकाले यहाँका पुरातात्त्विक सामग्रीको संरक्षण, ऐतिहासिक वस्तुको सुरक्षा र पौराणिक महत्त्वको वस्तुको प्रचार गर्नुपर्ने आवश्यकता छ । जैमिनिको महिमा वृद्धिका लागि जैमिनि अध्ययन केन्द्रको विकास, पुस्तकालयको स्थापना, शिवालयको उचित संरक्षण, गुफामा सङ्ग्रहालयको स्थापना, विविध शिलाको वरिपरि प्रदक्षिणा पथको निर्माण, दाहसंस्कार गर्ने निश्चित स्थानको निर्धारण, पाटीपौवा वा समाजघरको निर्माण गर्न सकिन्छ  ।  शिवरात्रि र श्रावण महिनाको सोमबार जैमिनिघाटदेखि दमेकको शिवपुरीसम्म कुम्भयात्रा सञ्चालन गर्नुपर्ने सुझावसमेत स्थानीय समाजसेवीको छ । परिणाम, एकातिर पर्यटकीय सम्भावना स्वतः बढेर जाने छ भने स्थानीयवासीको आम्दानी पनि स्वतः बढ्ने छ । जैमिनि क्षेत्रको उचित विकास हुँदा ख्याति पनि स्वतः आर्जन हुने छ । वास्तवमा जैमिनि क्षेत्रको पौराणिक, ऐतिहासिक र पुरातात्त्विक विशिष्टता बहुआयामिक छ । जैमिनिको महìव बुझ्न सके बागलुङ जिल्लाको मात्र नभई भविष्यमा देशकै गौरव र आकर्षक पर्यटकीय गन्तव्य हुन सक्छ । 

Author

डा. टीकाराम आचार्य ‘आरुणी’ / यम विरही