• १२ असोज २०८१, शनिबार

गुरुकुलका ३३ जनाकाे सेनाको हेलिकोप्टरबाट उद्धार

blog

सुनकोसी नदी र रोसी खोलामा आएको बाढीले घेरेपछि बटुर र गुरुहरु फसेको स्थान ।

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असोज १२ गते । सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ ।

सुनकोसी नदी र रोसिखोलामा आएको बाढीका कारण फसेर शुक्रबार दिउसोदेखि गुरुकुलमा नै अलपत्र रहेका २८ जना विद्यार्थी र गुरु सहित ३३ जनालाई शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुलाई अहिले सोही ठाँउको गजुली दहमा सुरक्षित रुपमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार उनीहरुलाई हेलिकोप्टरबाट उद्धार  गर्न जिल्ला सुरक्षा समितिको शनिबार बैठक बसी गृह मन्त्रालयलाई अनुरोध गरिएको थियो । गुरुकुललाई सुनकोसी नदी र रोसी खोलामा आएको बाढीले घेरेपछि बटुर र गुरुहरु फसेका थिए ।

सुनकोसीको बाढीको सतह समेत मन्दिरसम्म आई पुगेपछि उनीहरु भवनको माथिल्लो तलमा बस्दै आएको स्थानीयले बताएका छन् ।