• ८ वैशाख २०८१, शनिबार

गौरीघाटमा छठको तयारी अन्तिम चरणमा (फोटो फिचर)

blog

गौरीघाटमा छठपूजाका लागि तयार गरिएको छठघाट । तस्बिर: केशब गुरुङ

काठमाडौं, कात्तिक ११ गते । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।

अहिले काठमाडौं उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ । राजधानीको गौरीघाटमा छठ पर्वको तयारी चरणमा पुगेको छ । छठपूजा समितिका सदस्य किरणकुमार दासले गौरीघाटमा छठ पूजाका लागि ५१७ वटा घाट निर्माण गरिएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष २३ वटा घाट बढी निर्माण गरिएको सदस्य दासले बताउनुभयो । गत वर्ष पूजा गर्न घाट नपुगेका कारण यो वर्ष बढी घाट निर्माण गरिएको उहाँको भनाइ छ ।


छठपूजाको सामग्री केरा, उखुलगायत अरू सामग्री नेपालकै उत्पादनले पुग्ने तर नरिवल भने भारतबाट ल्याउनु पर्ने उहाँले बताउनुभयो । यो वर्ष कम्तीमा पाँच लाखले छठ पर्वको अवलोकन गर्ने उहाँको अनुमान छ । उपत्यकाको कुपन्डोल, कालीमाटी र गौरीघाटमा छठमा चाहिने सामग्री पसल राखिएकोले सामान सजलै पाउन सकिने छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।

सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरूले शुक्रबार नहाखायबाट महानपर्व छठको सुरुवात गरेका हुन् ।  पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खाय पनि भन्ने गरिन्छ । शुक्रबार छठि व्रत गर्ने व्रतालुहरूले नजिकैको खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका छन् ।

आज शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसोभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।