• २१ वैशाख २०८१, शुक्रबार

‘राष्ट्रिय विभूति शङ्खधर साख्वाबाट सबैले प्रेरणा लिनुपर्दछ’ – प्रधानमन्त्री देउवा

blog

शङ्खधर साख्वाः प्रतिष्ठानले बुधबार भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः केशब गुरुङ्ग

काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोकोपकारी कार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ । 

शङ्खधर साख्वाः प्रतिष्ठानले बुधवार भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । साख्वाले नेपाली समाजलाई अविस्मरणीय गुण लगाउनुभएका कारण तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “राष्ट्रिय विभूति शङ्खधर साख्वाले ऋणमा डुबेका नागरिकलाई ऋण मोचन एवम् दासत्वबाट मुक्त गरा सम्मान र स्वतन्त्रतापूर्वक बाँच्ने वातावरणको सिर्जना गर्नुभयो ।”

उहाँले साख्वाको नाममा हुलाक टिकट प्रकाशन, आधारभूत विद्यालय स्तरको पाठ्यक्रममा अध्ययन, अध्यापनको व्यवस्था मिलाइएको र यसले नयाँ पुस्ताले सिक्दै जाने अवसर पाएको बताउनुभयो । २०४६ सालको आन्दोलन, २०६२–६३ को जनआन्दोलनसँगै राष्ट्रिय मान्यता प्राप्त गर्दै आएको नेपाल संवतकाे प्रयोगले व्यापकता पाएको उहाँको भनाइ छ । साख्वाले देखाएको सत्मार्गमा प्रतिबद्ध भएर उहाँको महान् नेतृत्वबाट सबैले सिक्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

“नेपालमा अझै निरपेक्ष गरिबको रेखामुनि रहेका, आर्थिक विपन्नता, असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गरेको कामबाट सबैले प्रेरणा लिन सक्नुपर्छ । हामी सबै प्रतिबद्ध भएर लाग्न सके आर्थिक असमानता अन्त्य गर्न सकिन्छ । शङ्खधर साख्वा जस्ता महान् व्यक्तिबाट सिक्न जरुरी छ”, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री देउवाले मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन हुन लागिरहेको भन्नुहुँदै सरकारले निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा संविधानको सुरक्षा, आर्थिक समृद्धिका लागि चुनाव अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनुभयो । यस वातावरणमा चुनाव सम्पन्न गराउन सक्रियताका साथ सहभागी हुन उहाँले राजनीतिक दललगायत सबैमा आह्वान पनि गर्नुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।