• २२ वैशाख २०८१, शनिबार

काठमाडौं-१० मा गठबन्धन दलबीच नै प्रतिस्पर्धा

blog

सपना थामी

काठमाडौं, कात्तिक ७ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा हुनेभएको छ । कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका (१० क)  र चन्द्रागिरि नगरका केही वडाहरू रहेको (१० ख) क्षेत्रमा गठबन्धनमा रहेको प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिनिधिसभा सदस्यको लागि हुने निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवार उठाएको छ । 

गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)सँग मिलेर प्रतिनिधिसभा र काठमाडौं (१० क)मा काँग्रेसका उम्मेवारहरू र काठमाडौं (१० ख) मा एकीकृत समाजवादीका उम्मेदवारहरू उठाएको छ । तर माओवादी केन्द्रले एकल उम्मेदवार उठाएको छ । 

सो क्षेत्रको प्रतिनिधिसभामा कांग्रेसका राजेन्द्र कुमार केसी, एमालेका हिमेश केसी र माओवादी केन्द्रका अन्जना विशंखे मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । वि.सं २०६४ मा संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित केसीले २०६८ को दोस्राे संविधानसभामा बदला लिनुभयो । यस्तै, उहाँले २०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई हराउनुभयो । केसी चौथाे पटक चुनावमा उठेर तेस्राे पटक विजयी हुने धुनमा हुनुहुन्छ ।

तर उहाँका प्रतिस्पर्धीहरू दुवै जना प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा पहिलो पटक उम्मेदवार बन्नुभएको छ। माओवादी केन्द्रको उम्मेदवार अन्जना विशंखे यसअघि समानुपातिक उम्मेदवारबाट सांसद बनिसक्नुभएको छ ।

कांग्रेसका उम्मेदवार केसी र एमालेका उम्मेदवार केसी दुवैजना कीर्तिपुर नगरपालिकास्थित चाेभारका स्थानीय भने विशंखे चन्द्रागिरि नगरपालिकाकाे सतुङ्गल बाेसीगाउँका स्थानीय हुनुहुन्छ ।

स्थायी सरकार र देशको समृद्वि मूल एजेण्डा:

कांग्रेस उम्मेदवार तथा पूर्व मन्त्री राजेन्द्र केसीले चाडपर्वका कारण चुनावी अभियान जुन गतिमा अघि बढ्नुपर्ने हो अहिलेको अवस्थामा त्यो हुन नसकेको बताउनुहुन्छ। २०७२ को संविधान सभाले कांग्रेसको नेतृत्वमा जारी गरेको सङ्घीय लोकतान्त्रिक संविधानको रक्षा गर्दै अबको स्थायी सरकार र देशको समृद्वि मूल एजेण्डा भएको केसी बताउनुहुन्छ ।

केसी भन्नुहुन्छ, “संविधानको रक्षा स्थिर सरकार निर्माण, मुलुकलाई साधन स्रोतमा आधारित समृद्धितिर अगाडि लैजाने र यसका लागि बहुमतको सरकार आवश्यक पर्छ । त्यसका लागि गठबन्धनमा छौं । खानेपानीको सवालका, पूर्वाधारको सवालमा यहाँको तीन वटा नगरपालिका जसको आफ्नै विशेषता छ । कीर्तिपुर नगरपालिकामा मल्लकालीन, लिच्छविकालीन सम्पदाको संरक्षण र शिक्षित व्यक्तिहरु भएकाले यसलाई 'एजुकेशन हब'को रुपमा विकास गर्नुपर्छ ।”

एशियाकै पहिलो जलविद्युत आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता:

माओवादी केन्द्रका अन्जना विशंखे अहिले मतदाता एवम् जनताको घरलगायत विभिन्न समूहहरुमा वडा–वडा तहसम्म पार्टीको विचार तथा एजेण्डा लाने कार्य भइरहेको बताउनुहुन्छ । विशंखे भन्नुहुन्छ, “भेटघाट, उम्मेदवार घोषणा तीन वटै नगरपालिकामा भइरहेको छ । मतदाताले नयाँ अनुहार खोज्दोरहेछ । कुन क्षेत्रबाट उठेको, कहाँ र कुन समुदायबाट उठेको भन्नेले अर्थ राख्दो रहेछ । महिलाले आँट गरेकै हो भनेर भोटर जुनसुकै भए पनि दिउँ न त, भन्ने छ”, सधैँ अन्याय खेपिरहेको, चन्द्रागिरि साइटबाट चाहिँ कहिल्यै उम्मेदवार नबनाउने भन्ने हिसाबले पनि कुरा भइरहेको उहाँको भनाइ छ ।

यससँगै विगतमा राजनीतिक ढंगले को, कति इमानदार छ ? बोलीको ठेगान छ, कि छैन ? कुन पृष्ठभूमि र सङ्घर्ष गर्दै आएको हो कि होइन ? यसले पनि फरक पार्ने उहाँ बताउनुहुन्छ । चुनावमा विजय हासिल गरेपछि सरकारमा सहभागी हुने, २०६२–६३ को आन्दोलनपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख एजेण्डा रहेको उहाँको भनाइ छ ।

“व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तन गर्न पूर्वाधार विकासको रणनीतिक योजना पस्कने, पानीका क्षेत्रहरु कसरी सुकिरहेका छन्, नेवाः भाषा, संस्कृति जगेर्ना तथा विकास, आत्मनिर्भरलाई विकास गर्ने, फर्पिङमा एशियाकै पहिलो जलविद्युत आयोजना जीर्ण भएर बसेको छ, आइकिङ ट्रयाकिङको उर्वरा भूमि हो । ऐतिहासिक विद्यालय, मठमन्दिर यसलाई गुगल ट्रयास् गर्ने सामान्य ढङ्गले योजना बन्न सकेको छैन ।” यसलाई अघि बढाउने आफ्नो योजना रहेको उहाँ बताउनुहुन्छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवार हिमेश केसीले यसअघि निर्वाचित जनप्रतिनिधिले अनुभूति हुने खालको विकासको काम नगरेकाले आफूले युवा उम्मेदवार भएकोमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुहुन्छ ।

मतदातालाई युवाको भरोसाः

एमालेका केसी भन्नुहुन्छ, “यस क्षेत्रमा मतदाताको गुनासो विकास निर्माणमा देखिने खालको कुनै पनि काम नभएको, धार्मिक पर्यटनका लागि हाम्रो क्षेत्र भनेको पुरातन कालदेखि नै मातातीर्थ र मच्छेनारायणलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसकिएको । प्राकृतिक रुपमा एकदम धनी हो, सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा कुनै पनि ठाउँमा अनुभूति हुने खालको काम नगरेको आम मतदाताको भनाइ छ ।”

यसैगरी, विशेष महत्व रहेको त्रिभुवन विश्वविद्यालय र शिक्षा क्षेत्रलाई समाज परिवर्तनको लागि स्थापित गर्दै लानुपर्ने उहाँ बताउनुहुन्छ । देशभरका विद्यार्थी यसै क्षेत्रमा बस्ने भएकाले पनि यसको आफ्नै प्रतिष्ठित पहिचान भएको तर राजनीतिक दलहरुको अखडा बन्दै आएको उहाँको भनाइ छ ।

विश्वविद्यालय नै सञ्चालन हुन गाह्रो हुने गरी हुने विरोध र आन्दोलनले शैक्षिक क्षेत्रमा असर पुगिरहेको विषयलाई विचार गरिने केसी बताउनुहुन्छ ।

“प्रोफेसरहरु पनि परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । सत्ता प्राप्तिका लागि जे पनि गर्ने कुरा र समाज परिवर्तन गर्ने कुरामा जसले गरेको भए पनि र अब युवाको विश्वास जित्न सकियाे भने समाजकाे रूपान्तरण गर्न सकिन्छ भन्ने सकारात्मक प्रतिक्रिया आएको छ”, उहाँले भन्नुभयो ।

विगतको निर्वाचन परिणाम:

यसअघि २०७४ निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी २४,१९० मतसहित विजयी हुनुभएको थियो । माओवादी केन्द्रका हितमान शाक्यले २१, ९०७, विवेकशील साझा पार्टीका प्रदीप ढकालले २,००३, नेपाल कम्युनिष्ट पार्टी (माले)का कृष्णकुमार श्रेष्ठले १,७५७ र नयाँ शक्ति पार्टी, नेपालका पञ्चलाल महर्जनले १,१९५ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ९,०४३ मतसहित विजयी हुनुभयो । साे निर्वाचनमा एमालेका केशरत्न बज्राचार्यले ५,५०७, माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ४,०९०, एकीकृत समाजवादीका बटुकृष्ण थापाले १,१५३ मत प्राप्त गर्नुभएको थियो ।

दक्षिणकाली नगरपालिका प्रमुखमा कांग्रेसका मोहन बस्नेत ७,२०१ मतसहित विजयी हुनुभयो भने एमालेका श्रीराम आचार्यले ५,१९२ मतसहित दोस्रो र राप्रपाका ज्ञानभक्त अमात्य ७९४ मतसहित तेस्रो स्थानमा हुनुहुन्थ्यो ।

यस्तै, २०७९ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिका प्रमुखका कांग्रेसका घनश्याम गिरी १५,४७५ मतसहित विजयी हुनुभएको थियो । सो नगर प्रमुखमा एमालेका उत्तमबहादुर राउतले १४, ६५१ सहित दोस्रो र राप्रपाका अजय श्रेष्ठ १,२१४ मतसहित तेस्रो स्थान प्राप्त गर्नुभएको थियो ।

काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रगिरि नगरपालिकाका १५ वटा वडाहरुमध्ये २, ३, ४, ५, ६ ७, ८, ९, १०, ११ पर्दछन् ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।