• ६ जेठ २०८१, आइतबार

गाईको पूजा गरी मनाइयो गाई तिहार

blog

काठमाडौं, कात्तिक ८ गते । नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज (मङ्गलबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् ।


कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । आज गौशालामा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन पशुपतिको गौशालामा पनि गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाईपूजा गर्नुपर्ने शास्त्रीय मान्यता  छ ।


आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।


गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । आमाले आफ्ना सन्तानलाई दूध खुवाए जस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पनि पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।


कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुबै रूपमा प्रयोग हुनेगर्छ । प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो ।