• २४ जेठ २०८२, शनिबार

जनकपुरधामको कला संस्कृतिको ऐतिहासिक महत्त्व छ: सभापति देउवा

blog

मैथिली विकास कोषको कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवा । तस्बिर: धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, जेठ २३ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जगत् जननी जानकी जन्मेको पवित्र भूमि जनकपुरधामको कला संस्कृतिको ऐतिहासिक महत्त्व रहेको भन्दै यसको प्रचार प्रसार हुनु पर्ने बताउनु भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा शुक्रवार मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निमार्ण भएको मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले जनकपुरधाममा निमार्ण भएको यस भवनले यहाँका कला संस्कृतिको जगेर्ना गर्ने बताउनु भयो । उक्त भवन निमार्ण काममा सबै राजनीतिक दलको सहयोग भएको विषय सराहनीय रहेको भन्दै उहाँले समाजका लागि गरिने विकास निमार्णको काममा सबैको सहयोग हुनु आवश्यक भएको बताउनु भयो । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाममा रहेको जानकी मन्दिर हिन्दुहरूको आस्थाको केन्द्र रहेको र यहाँका मिथिला पेन्टींग विश्वमा प्रसिद्ध रहेको भन्दै यसको प्रचार प्रसार गरी पर्यटक तान्न सके मधेस प्रदेश सहित देशकै अर्थ तन्त्रमा ठुलो मद्दत पुग्ने धारणा राख्नु भयो । 

कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज कुमार यादवले सङ्घीयता स्थापना पछि प्रदेश सरकारले विभिन्न गौरवको आयोजनाहरू अघि बढाएको भन्दै त्यसको उदाहरण स्वरूप मैथिली विकास कोषको नवनिर्मित भवन रहेको बताउनु भयो । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौला , आनन्द ढुङ्गाना सहितका नेताहरूले बोल्नु भएको थियो । 

जनकपुरधाम वडा नं.८ मा पाँच कठठ् क्षेत्रफलमा मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु. सात करोडको लागतमा निमार्ण भएको चार तल्ले यस भवनामा एउटा ठुलो सभा हल , तिन वटा सानो सभा हल सहित ३० वटा कोठा रहेको मैथिली विकास कोषका अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।