रवीन्द्र उप्रेती
बर्दिबास, जेठ २४ गते । सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि शनिबार बर्दीबासमा साइकल र्याली निकालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको आयोजना बर्दीबास नगरपालिका, रोटरी क्लब अफ बर्दीबास, मधेश प्रदेश प्रहरी तथा जिल्ला प्रहरी महोत्तरी लगायत सङ्घ संस्थाको सहयोगमा साइकल र्याली आयोजना गरिएको हो ।
‘तीव्र गति जीवन क्षती’, ‘सेफ ड्राइज लङ लाइफ’, ‘सवारी चलाउँदा माेबाइलको प्रयोग नगरौं’, ‘ट्राफिक नियम मिचेकोमा गर्व हैन शर्म गरौं’ जस्ता सचेतनामूलक प्लेकार्डसहित बर्दीबास खुला चौरबाट सुरु भएको साइकल र्यालीले पूर्वपश्चिम लोकमार्ग, बर्दीबास जलेश्वर मार्ग र विपी राजमार्गका प्रमुख सडक चोकको परिक्रमा गरेको थियो ।
साइलक र्यालीमा साइबर्दीबास नगर प्रमुख प्रहलाद क्षेत्री, होटल तथा पर्यटन महासङ्घ मधेश प्रदेश अध्यक्ष हीरा गौतम, जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशी, बर्दीबास साइकिलिङ क्लबका अध्यक्ष प्रदीप कार्की, बर्दीबास हेल्प फाउन्डेसनका अध्यक्ष कुमार भण्डारी, नागरिक अभियन्ता, पेसाकर्मी लगाएत सयौंको सहभाागिता थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै बर्दीबास नगर प्रमुख प्रहलाद क्षेत्रीले सुरक्षित यात्रा नागरिकको अधिकार भएकोले सवारी चालक, पैदल यात्रु र समजालाई ट्राफिक व्यवस्थापनमा सजग बनाउन साइकल र्याली जस्तो रचनात्मक कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो ।
त्यस अवसरमा जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख लक्ष्मीराज जोशीले अर्थिक वर्ष ०८१-०८२ को साउनदेखि जेठ २३ गतेसम्म गम्भिर र सामान्य प्रकृतिका गरी महोत्तरीमा ५७२ सवारी दुर्घटना हुदा ३६ जनाको मृत्यु भएको बताउनुभयो ।
जोशीले भन्नुभयो, ‘यस्ता दुखान्त घटना न्यूनीकरणको उद्देश्यले सवारी चालकदेखि पैदल यात्रुसम्मलाई ट्राफिक नियमको वोध गरउन र ‘सुरक्षित सडक सुरक्षित समाज’ भन्ने मूल नारालाई साकार पार्न साइकल र्यालीको आयोजना गरिएको हो ।’