• २४ जेठ २०८२, शनिबार

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

blog

काठमाडौँ, जेठ २४ गते । यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले यहाँ आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ । सम्मेलन असार १ गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने छ । 

सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भएपनि नेपालका लागि पहिलो हुने बताउनुभयो । शदियौँदेखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्णरूपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य ३ वटा एजेन्डामा बहस हुने संयोजक विश्वकर्माले जानकारी दिनुभयो । 

सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक (अग्नि शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरूबाट सम्मेलनका लागि काठमाडौँ आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले सम्मेलन दलित मुक्तिको लागि कोसेढुङ्गा सवित हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारिक र नविन आन्दोलनको आवश्यकता रहेको बताउनुभयो । रासस