• १३ साउन २०८१, आइतबार

निर्वाचनपछि गठबन्धनको बलियो सरकार बन्छ : काँग्रेस उपसभापति खड्का

blog

नेपाली काँग्रेस, सुर्खेतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम । तस्बिर – ललित बसेल

ललित बसेल

सुर्खेत, कात्तिक ८ गते । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले मुलुकमा देखिएको समस्याको निकास र जनताले खोजेको विकासको चाहना पूरा गर्ने काम निर्वाचनपछि बलियो गठबन्धनको सरकारले पूरा हुनसक्ने बताउनुभएको छ ।

मङ्गलबार नेपाली काँग्रेस, सुर्खेतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फका उम्मेदवार रहनुभएका नेता खड्काले गठबन्धन मुलुकको आवश्यकताअनुसार भएकाले यो गठबन्धन मङ्सिर ४ गतेको निर्वाचनपछि पनि कायम रहने जनाउनुभयो । 

आगामी निर्वाचनपछि झन् बलियो गठबन्धनको सरकार हुने र त्यसैले जनताको तीव्र विकासको चाहना, लिक बाहिर जान लागेको संविधानलाई सही बाटोमा हिँडाएर संरक्षणको काम गर्ने उहाँले बताउनुभयो ।

विकास र निकासको लागि बलियो सरकारको आवश्यक पर्ने भएकाले त्यसका लागि गठबन्धन गरिएको उहाँको भनाइ छ । विगतमा एमालेलाई जनतालाई जिताए पनि संविधानको धज्जी उडाएको, दलहरुबीच एकता कायम गर्न नसकेको, जनताको विकासको चाहनालाई पूरा गर्न नसकेकाले काँग्रेसको नेतृत्वमा गठबन्धन बनेको र यही सरकारले अहिले संविधान जोगाउने र विकास गर्ने जिम्मेवारी पाएको उहाँले जनाउनुभयो । 

उहाँले सुर्खेत कर्णाली प्रदेशको राजधानीसमेत भएको हुँदा विगतमा आफूहरुले गरेका विकास निर्माणको काम अझैसम्म पनि अधुरै रहनु दुःखद भएकाले बताउनुभयो ।  

यस्तै, काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले गठबन्धनका साझा उम्मेदवाहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो । सुर्खेत क्षेत्र नं. २ का लागि प्रतिनिधिसभातर्फका उम्मेदवारसमेत रहनुभएका नेता थानीले कोहलपुर—सुर्खेत सडक चार लेन बनाउने, बर्दिया जोड्ने भुरीगाउँ—तेलपानी सडक, गुटु—बेनीघाट सडक, १३२ केभीए विद्युत् प्रसारण लाइन, भेरीको पानी लिफ्ट गरी सुर्खेत उपत्यका ल्याउने योजनाहरु विगतमा सुरुवात भए पनि हुन नसकेकाले आफूहरु निर्वाचित भए तत्काल काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । 

सो अवसरमा सुर्खेत क्षेत्र नं. १ का प्रदेश क का उम्मेदवार एवं काँग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोख्रेल र सुर्खेत क्षेत्र नं. २ का प्रदेश क का उम्मेदवार कालीप्रसाद शाक्यले विकास र निकासका लागि गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन सबै क्षेत्र खटिन आवश्यक भएको बताउनुभयो । 

नेपाली काँग्रेस, सुर्खेतले मङ्गलबार आयोजना गरेको कार्यक्रममा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, पूर्व मन्त्री हृदयराम थानीलगायत । तस्बिर – ललित बसेल