• १२ साउन २०८१, शनिबार

कोदोबारीमा पुगेर मत माग्दै उम्मेदवार

blog

कोदोबारीमा पुगेर मत माग्दै उम्मेदवार ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक ७ गते । किसानलाई बाली भित्र्याउन यतिखेर चटारो छ भने उम्मेदवारलाई मत माग्न । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका उम्मेदवारहरु किसानको खेतबारीमा पुगेर मत माग्न थालेका छन् ।

जिल्लाको ग्रामिण भेगतिर किसानले लगाएको कोदो पाक्न थालेको छ । कोदो काट्न व्यस्त रहेका किसानहरुको बारीमा पुगेर उम्मेदवारहरुले मत माग्न थालेका हुन् ।

कोदो काट्न व्यस्त किसानहरुलाई केही समय सघाउँदै मत पनि मागेका छन् । नेताहरु किसानको खेतबारीमा पुग्न थालेपछि मतदाताहरु पनि उत्साहित भएका छन् । खेतबारीमा आइपुगेका उम्मेदवार र नेताहरुलाई किसानले आफ्ना गुनासो र माग राखेका छन् ।

पहिलो चरणमा घरदैलो र कार्यकर्ता भेटघाटको कार्यक्रम लिएर गाउँ पसेका उम्मेदवारहरु मतदाता भेट्न किसानको खेतबारीमा पुग्ने गरेका हुन् ।

निर्वाचन आयोगले उम्मेदवारहरुको प्रचारप्रसार अभियानको लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिन अघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवारहरु घरदैलो अभियान लिएर गाउँ पसेका छन् ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठ प्रदेश निर्वाचन क्षेत्र नं. (क) का उम्मेदवार देवेन्द्रबहादुर केसी र (ख) का उम्मेदवार यामबहादुर गर्बुजासहितको टोली मत माग्न घरदैलो अभियानमा छ ।

यस्तै, सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बन्नुभएका माओवादीका हरिबहादुर भण्डारी र (ख)मा उम्मेदवार बन्नुभएका रेशम जुग्जाली सहित निर्वाचन प्रचार प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

दलहरुले जिल्ला स्तर, दुबै प्रदेश सभा क्षेत्र र ६ वटै स्थानीय तहमा निर्वाचन परिचालन समिति गठन गरेर प्रचार अभियानलाई तीव्रता दिएका छन् । पहिलो चरणको अभियान अन्तर्गत घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रम तय भएको सत्ता गठबन्धनका तर्फको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केबी)ले जानकारी दिनुभयो ।

यस्तै, नेकपा एमालेले पनि पहिलो चरणमा उम्मेदवारसहित घरदैलो अभियान लिएर मतदाताको घरमा पुग्ने कार्यक्रम सञ्चालन गरेको जिल्ला कमिटीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । 

एमालेले वडा, टोल र बस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट गरेको उहाँले बताउनुभयो । जिल्लामा राप्रपा, नेशनल मंगोल अर्गनाइजेशन लगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुले समेत घरदैलो अभियान चलाएका छन् ।

आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भैरहेको छ । दलहरुले प्रचार प्रसार गर्ने मुख्य अवधिमै स्थानीय तहमार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभाका दुई गरी प्रत्यक्षतर्फसहित तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित ९ जना प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा छ जना उम्मेदवार बनेका छन् ।