• १३ साउन २०८१, आइतबार

दैलेखमा चुनावी मैदानमा पुरानै अनुहार

blog

दैलेखमा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार । तस्बिर – कमल शर्मा

कमल शर्मा 

दैलेख, कात्तिक ५ गते । प्रतिनिधिसभा र प्रदेशसभामा दैलेख जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा पुरानै अनुहार दोहोरिएका छन् । 

दैलेख निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका रविन्द्रराज शर्मा प्रतिनिधिसभामा पुनः दोहोरिनु भएको छ भने सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका अम्मरबहादुर थापा चौथो पटक  निर्वाचन लड्दै हुनुहुन्छ । 

रवीन्द्रराज शर्माले २०७४ मा भएको प्रतिनिधिसभामा नेपाली काँग्रेस र राप्रपाबाट उम्मेदवार बन्नुभएका दीपकबहादुर शाहीलाई पराजित गर्नुभएको थियो । 

उता, नेकपा एमालेबाट २०६४ सालमा संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका गणेशबहादुर खड्कासँग पराजित थापा वि.सं. २०७०मा प्रतिनिधिसभा र २०७४ सालमा प्रदेशसभामा प्रत्यक्ष निर्वाचनमा निर्वाचित हुनुहुन्छ ।

संविधानसभाको निर्वाचनमा काँग्रेसका गणेशबहादुर खड्कालाई पराजित गर्नुभएका थापा उहाँले २०७४ सालमा नेकपाबाट दैलेख निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभामा काँग्रेसका जगतजग थापालाई पराजित गर्नुभएको थियो ।  

नेकपा (एमाले) बाट उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले नेपाली काँग्रेसका हिमबहादुर शाहीलाई पराजित गर्नुभएको थियो । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका दिक्पाल शाही २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँलाई एमालेका उम्मेदवार राजबहादुर शाहीले पराजित गर्नुभएको थियो । 

दैलेख निर्वाचन क्षेत्र न. १ मा २०७४ मा भएको प्रदेशसभामा नेकपाबाट उम्मेदवार भई विजयी हुनुभएका धर्मराज रेग्मी पुनः प्रदेश सभा सदस्यमा उम्मेदवार बन्नुभएको छ । उहाँसँग नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति कृष्णकुमार बिसी पराजित हुनुभएको थियो । अहिले धर्मराज रेग्मीसँग प्रदेशसभामा निर्वाचनमा नेपाली काँग्रेसले पार्टीका पूर्व कोषाध्यक्ष पूर्णबहादुर खत्रीलाई निर्वाचनमा उम्मेदवार बनाएको छ ।  उहाँ पहिलो पटक संसदीय निर्वाचन लड्दै हुनुहुन्छ । 

निर्वाचन क्षेत्र १ को (ख)मा भने नेपाली काँग्रेसका कृष्णकुमार बिसी उम्मेदवार बन्नुभएको छ । अघिल्लो पटक आफ्नै निर्वाचन क्षेत्रबाट पराजित बिसीलाई यस पटक प्रदेश (ख)मा ल्याएर उम्मेदवार बनाइएको छ । एमालेबाट प्रदेशसभा (ख)मा प्रेमबहादुर थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँ जिल्ला समन्वय समिति दैलेखको निवर्तमान प्रमुख हुनुहुन्छ । 

दैलेख निर्वाचन क्षेत्र २ को (क) प्रदेशमा (क)मा नेकपा एमालेका उम्मेदवार तिलक प्रसाद रिजाल र सत्ता गठबन्धन बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी चुनावी प्रतिस्पर्धा हुने भएको छ । तिलक रिजाल २०५४ मा भएको स्थानीय तहको निर्वाचनमा दुल्लु गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने उहाँका प्रतिस्पर्धी घनश्याम भण्डारी दुल्लु नगरपालिकाका निवर्तमान नगरप्रमुख हुनुहुन्छ । 

निर्वाचन क्षेत्र २ को (ख) प्रदेशमा एमालेबाट उम्मेदवार बन्नुभएका विनोदकुमार शाह पनि जनताबाट अनुमोदित भइसक्नुभएका हो । उहाँले २०५१ सालको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बनेर विजयी हुनुभएका उहाँ पूर्व जलस्रोत सहायक राज्यमन्त्री समेत भइसक्नुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका योगेन्द्र शाही मात्र नयाँ अनुहार हो । उहाँ कर्णाली प्रदेश योजना आयोगमा सदस्य भए पनि अहिलेसम्म जनताबाट अनुमोदित हुनुभएको छैन ।