• २ माघ २०८१, बुधबार

तिहारको रहस्य (कविता)

blog

फिरन्ते मान्छे प्रतीक हाम्रो कागको तिहार

सञ्चारकर्मी हुनाले पायो मान्छेको पियार ।

सुरक्षाकर्मी मान्छेको थियो सिकारी कुकुर

जीवन धान्थे सिकार खेली मृग र ढुकुर ।


किसानी जीवन प्रतीक हाम्रो गाईको तिहार

कृषिका लागि उन्नति गर्ने गोरुको तिहार ।

दाजु र बैनीबीचको धर्म–रेखा हो तिहार

पञ्चक बन्यो सभ्यता हाम्रो प्रतीक तिहार ।


हो सात रङ सूर्यको प्रतीक इन्द्रेनी साक्षी छ 

चन्द्र र सूर्य आँखा हुन् हाम्रा बीचमा अग्नि छ ।

यसैले ठाडो टीका छ हाम्रो आगाको स्वभाव

दिदी र भाइ मिलाप भए हुँदैन अभाव ।


पञ्चक भन्नु मान्छेका पाँच श्रेणी हुन् जमाना

काग र कुकुर, गाई र गोरु, यम र यमुना ।

फिरन्ते अनि सिकारीपछि पशुको पालन 

खेती र पाती बनेछ जाती गोरुको चलन ।


कर्तव्यनिष्ठ सभ्यता हाम्रो भाइको तिहार 

विकास भयो मान्छेको तब मानियो तिहार ।

चाड छन्, हाम्रा रहस्य राम्रा कृषिमा तयार

बुझेर मानौँ चाड र पर्व, संस्कृति अपार ।