• १३ साउन २०८१, आइतबार

अवस्था बदल्न राजनीतिमा सक्रिय भएको हुँ : नेता पौडेल

blog

चुनाव प्रचार प्रसार कार्यालयको उदघाटन गर्दै वरिष्ठ नेता पौडेल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको  बलिदानी, त्याग र लामो सङ्घर्षले व्यवस्था बदलिएको भए पनि अवस्था नबदलिएकाले राजनीतिमा सक्रिय रहेको बताउनुभएको छ ।  

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनु भएका पौडेलले आज तनहुँको व्यास नगरपालिका वडा ७ मा सत्ता गठबन्धनको चुनावी सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको हो । ‘व्यवस्था बदलिएको छ यसलाई कायम गर्दै हाम्रो अवस्था बदल्नतिर मेरो कदम जारी रहेकाले त्यो पूरा गर्न राजनीतिमा सक्रिय भएको हुँ’ नेता पौडेलले भन्नुभयो । 

अझै पनि प्रवृत्तिहरू पुरानै भएको, विकृति नघटेको, सुशासन कायम हुन बाँकी रहेको राजनीतिमा विश्राम नलिएको उहाँले बताउनुभयो । राजनीति र विकास सँगै लैजान आफू सक्रिय भएको उहाँको भनाइ छ । ‘राजनीति केवल राजनीति गर्नका लागि मात्र भएको छ, राजनीतिबाट विकासको जग बस्नु पर्छ, जनताको जीवनमा आर्थिक परिवर्तन आउनु पर्छ’ नेता पौडेलले भन्नुभयो । 

जनताको जीवनमा परिवर्तन ल्याउनु पर्ने, रोजगारी र आम्दानीको अवसर गाउँ गाउँमा दिलाउनु पर्ने नेता पौडेलले बताउनुभयो । ‘सडक, बिजुली, पानी, सञ्चार  र पूर्वाधार निर्माणमा लाग्यौँ, गाउँ गाउँमा सडक लग्यौँ, विद्यालय लग्यौँ तर गाउँ रित्तिँदै छन्’ नेता पौडेलले थप्नुभयो, “गाउँ रित्तिने क्रम रोक्न गाउँमै रोजगारी पुर्‍याउन  बाँकी छ’ । 

गाउँमै उद्योग व्यवसाय स्थापना गरेर, पर्यटनको विस्तार गरेर, कृषि क्रान्ति गरेर, त्यहाँ व्यवसायहरू खुलाएर, उद्योगहरू खुलाएर आम्दानी बढाउने र रोजगारी दिनु पर्ने नेता पौडेलको भनाइ छ । 

राष्ट्रलाई बाटो  देखाउने र सही दिशातिर लैजाने, जनताको निराशालाई हटाउनु पर्ने भएकाले त्यो काम पूरा गर्न आफू उम्मेदवार बनेको नेता पौडेले बताउनुभयो । भविष्यका लागि देशको सही व्यवस्थाको जग बसाल्न बाँकी रहेकाले त्यसकालागि आफू लागिपर्ने उहाँले बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य ओमकुमारी पौडेलले राष्ट्रको नेतृत्व गर्न सक्ने खुबी भएको नेता तनहुँले पाउनु गर्वको विषय भएको बताउनुभयो ।