• १३ साउन २०८१, आइतबार

सन्दीपलाई तेस्रो पटक अदालतमा पेस

blog

फाइल तस्बिर ।

काठमाडौं, कात्तिक २ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेस गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको हो ।

सन्दीपमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा उजुरी परेको छ । यसअघि सन्दीपलाई असोज २७ गते दोस्रो पटक र असोज २० गते पहिलो पटक प्रहरीले अदालतमा पेस गरेको थियो ।

सन्दीपलाई अदालतले पहिलो पटक असोज २० गते सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।

पछिल्लो पटक कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न अनुमति दिइए पनि मङ्गलबार अदालत बिदा भएकोले सन्दीपलाई बुधबार (आज) अदालत पेस गरिएको हो । 

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो । 

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।