• १६ वैशाख २०८१, आइतबार

भारतीय सेना अनिस म्याराथन विजेता

blog

म्याराथनमा स्वर्ण विजेता भारतीय सेना आनिस थापामगर । तस्बिर : विकास द्वारे

गोरखापत्र समाचारदाता

पोखरा, कात्तिक १ गते । गण्डकी प्रदेशका भारतीय सेना अनिस थापामगरले मंगलबार पुरुष म्याराथनमा स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा ३३ वर्षीय अनिसले २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्नुभयो । 

उहाँले आर्मीका कृष्ण बस्नेतलाई पछाडि पार्नुभयो । कृष्णले २ घण्टा २३ मिनेट १४ सेकेन्ड समय लगाएर रजत पदकमा चित्त बुझाउनुभयो । एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३० मिनेट ५४ सेकेन्डसहित कांस्य पदक हासिल गर्नुभयो ।

भारतीय सेनामा १३ वर्षअघि जागिरे बनेका पर्वतका अनिस भारतीय आर्मीभित्र हुने दस किलोमिटर र क्रस कन्ट्री दौडमा लगातार सहभागी हुँदै आउनुभएको छ । राष्ट्रिय खेलकुदमा उहाँको यो दोस्रो पदक हो । आठौँ राष्ट्रिय खेलकुदमा अनिशले दस हजार मिटरमा रजत पदक जित्नुभएको थियो । 

२०६५ सालमा पनि अनिसले राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्नुभएको थियो । उहाँले राष्ट्रिय खेलकुदमा म्याराथन जितेपछि देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय म्याराथन खेल्ने अपेक्षा गर्नुभयो ।

उहाँ एक महिना छुट्टीमा आएको बेला राष्ट्रिय खेलकुद हुदैछ भनेर थाहा पाएपछि ट्रायलमा सफल भएर म्याराथन दौडेको बताउनुभयो । उहाँले भन्नुभयो– घरेलु ट्रयाकमा नेपालका अनुभवी म्याराथन धावकहरूलाई हराएर स्वर्ण जित्दा खुसी भएको छु ।