• १६ वैशाख २०८१, आइतबार

भाराेत्तोलनमा जुनमायालाई कीर्तिमानसहित स्वर्ण

blog

काठमाडौं, कात्तिक १ गते । नेपाल पुलिस क्लबकी जुनमाया छन्त्यालले भाराेत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभएको छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा उद्योग वाणिज्य सङ्घको हलमा मङ्गलबार महिला ७१ केजी तौल समूहमा उहाँले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गर्नुभएको हो । 

जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल एक सय ६७ केजी उठाउँदै स्वर्ण जित्नुभयो । यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल एक १७ केजी वहन गर्दै रजत जित्नुभयो  

नेपाल पुलिकी सरस्वती पुरीले कुल एक सय १५ केजी भार वहन गर्दै कांस्य जित्नुभयो । उहाँले स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाउनुभएको थियो । मङ्गलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो ।

आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौथो स्वर्ण दिलाउनुभएको हो । 

पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल एक सय २८ केजी भार गर्दै रजत र नेपाल आर्मीकी प्रशंसा पुनले कांस्य जित्नुभयो । पुनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार उठाउनुभएको थियो । 

प्रतियोगितामा मंगलबार कूल ६ स्वर्णको छिनोफानो हुँदैछ । हालसम्मको नतिजामा पुलिस पदक तालिकाको शीर्षस्थानमा छ । पुलिसले हालसम्म पाँच स्वर्ण, आर्मीले चार र सुदूरश्चिमले एक स्वर्ण जितिसकेका छन् । 

कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०/१० इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ  प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी एक सय ७२ जना खेलाडीले २० स्वर्णसहित कुल ६० पदकका लागि प्रतिस्पर्धा भइरहेको नेपाल भाराेत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिनुभयो ।