• १२ साउन २०८१, शनिबार

गोपीलाई हराउने सपना पूरा भयो– दीपक

blog

१० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण विजेता दीपक अधिकारी । तस्बिर : गोरखापत्र

प्रजित शाक्य

पोखरा, असोज ३० गते । गोपीचन्द्र पार्कीलाई हराउने सपना पूरा गर्दै त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्नुभएको छ ।

पोखरा रङ्गशालाको आइतबार दीपकले ३० मिनेट १०.३६ सकेन्डमा दौड पूरा गर्नुभयो । उहाँले आठ वर्षअघि गोपीचन्द्रले राखेको घरेलु दस हजार मिटरको राष्ट्रिय कीर्तिमान भड्ग गर्नुभयो ।

गोपीचन्द्र ३० मिनेट ३८.३२ सकेन्ड समय लगातार रजत पदकमा चित्त बुझाउन बाध्य हुनुभयो । गोपीचन्द्रलाई नै पछाडि पारेर राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेपछि दीपकको खुशी दोब्बर भयो ।

‘‘गोपी दाइ आदर्श खेलाडी हुनुहुन्छ । उहाँलाई म निकै सम्मान गर्छु । गोपी दाइलाई नै हरेर यो इभेन्टमा खेल्न थालेको हुँ । उहाँसँगै धेरै दौडेँ तर अहिलेसम्म जित्न सकेको थिएन । हालै एसियन छनोटमा नै दुई पटक उहाँसग पछाडि परेँ । तर यसपटक यसपाली अठोट गरेको थिएँ उहाँको उपस्थितिमा स्वर्ण जित्ने । जुन सपना साकार भएको छ,’’उहाँले भन्नुभयो । 

गोपीचन्द्रले २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ३० मिनेट ३०.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो । सो कीर्तिमान दीपकले झन्डै २० सेकेन्डले बिट गर्नुभएको छ ।

गजेन्द्रले १५ ल्यापसम्म अग्रता बनाउनुभएको थियो । १५ ल्यापछि  दीपकले अग्रता बनाउनुभयो र त्यसपछि सो अग्रतालाई कायम राख्ने उहाँले राष्ट्रिय कीर्तिमानलाइ पनि सजिलै पार गर्नुभयो । नेपाल आर्मीकै गजेन्द्र ३० मिनेट ४९.५० सेकेन्डमा दौड पूरा गरी तेस्रो हुनुभयो ।

२७ वर्षीय धादिडका दीपक नेपाल सेनामा भर्ना भएपछि मात्र खेल्नु थाल्नुभएको हो । २०७२ सालपछि खेलाडी जीवन थालेको दीपकले आप्नो संगठनभित्र राम्रो दौड्नेको छवि बनाएपछि राष्ट्रिय स्तरमा पुग्नुभयो ।

नेपाल आर्मीका खेलाडीबीच हुने प्रतियोगिता प्रधान सेनापति ट्रफीमा दस हजार र पाँच हजारमा स्वर्णपदक जितेपछि राष्ट्रिय एथलेथिटक्स प्रशिक्षकहरुले दीपकलाई साग छनोटमा बोलाएका थिए ।

१३ औँ दक्षिण एसियाली खेलकुदमा उहाँले नेपालालई काँस्यपदक पनि दिलाउनुभयो । दीपक राष्ट्रिय खेलकुद प्रतियोतिगा नखेलीकन नै अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको रुपमा पनि चिनिनुहुन्छ ।