• १६ वैशाख २०८१, आइतबार
blog

काठमाडौं, असोज २९ गते ।  विगत तीन दशकदेखि मिथिला कलामा रमाउँदै आउनुभएका श्यामसुन्दर यादवले मिथिला क्षेत्रका हरेक घरमा मिथिला चित्र बनाइयोस् भन्नुहुन्छ । घर बनाउँदा समुदाय अनुरूप परम्परा झल्कने कलाहरूले सजावटका लागि मिथिला र काठमाडौं अर्थात् यें जोडेर ‘मिथिला यें’ ग्यालरीको स्थापना  गर्नुभएको छ। 

कलाकार यादवका अनुसार मौलिकता, समाजको परम्परासँग जोड्ने धरातलको कलालाई मिथिला कला भनिन्छ। यस्तै, मिथिला कला बनाउँदै जाँदा कलाकारको चाहनासँगै देखिएको कला नै आधुनिक मिथिला कला रहेको उहाँको दाबी छ।  “मिथिला लोक कलामा कथा कहानी र संस्कृतिमा जे छ त्यो बनाउँछन्। तर, आधुनिक मिथिला कलामा मन र इमोसनलका कुरा देख्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “जस्तै, भूकम्पलाई लिँदा आधुनिक कलामा मानिसले भोगेका समस्या र पीडालाई कलामार्फत देखाइएको हुन्छ।”

मिथिला कलामा भएका रङ्ग र लाइनलाई जोडेर आधुनिक मिथिला कलाको निर्माण हुन्छ। मिथिला कला पहिले लोकल रङ्ग, माटो, गोबर , विभिन्न फूल र पातले बन्थे। पहिले पहिले मिथिला कला आँगनमा, घरको भित्तामा र आफूले लगाउने वस्तुमा मात्र सीमित रहन्थे। बिस्तारै बिस्तारै यो कला व्यावसायिक बनेको हो। 

घरको आँगन र भित्तामा मात्रै सीमित रहेको कलालाई कपडा र क्यानभासमा बनाएर देश विदेशमा पठाउने आयआर्जनको रूपमा विकास गर्न थालिएको उहाँको भनाइ छ। “यसबाहेक मिथिला वा आधुनिक मिथिला कलालाई महिलाको कलाको रूपमा लिइन्छ। तर, यो मात्र होइन। मिथिला कला दुवै महिला र पुरुषको हो,” उहाँ भन्नुहुन्छ,  “विशेष गरेर महिला घरकै काममा व्यस्त रहने कारण महिलाले बढी प्रयोग गर्ने गरेको पाइन्छ।” 

कलाकार यादवका मिथिला कला आधुनिक कलाको जन्मदाता भएको बताउनुहुन्छ। यो संसारको सबैभन्दा पुरानो कला हो। कलामार्फत संस्कृति, मौलिकता र परम्परालाई जोड्का लागि लागिरहनुभएका श्यामसुन्दर यादवलाई आधुनिक मिथिला कला कोर्न धेरै मनपर्छ। 

उहाँ भन्नुहुन्छ, “आधुनिक मिथिला कलाले काठमाडौंको कला, नेवा संस्कृति, परम्परालाई चिनेको छ। त्यसैगरी काठमाडौं र देशका हरेक समुदाय, संस्कृतिले पनि मिथिलाको कलालाई चिन्नुपर्छ।” 

आधुनिक मिथिला कलामा जीवन कथा वा संस्कृति सँगसँगै भावनात्मक वा मनका कुरा चित्रमार्फत कोरिएका हुन्छन्। मिथिला कलाकै रङ्ग र रचनालाई जोडेर नै आधुनिक मिथिला कला बन्ने उहाँको भनाइ छ। विगत लामो समयदेखि सञ्चालनमा रहेको ‘मिथिला येँ आर्ट ग्यालरी’मा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको उहाँको भनाइ छ। कलाकार श्यामसुन्दर यादवसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :