गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १४ गते । गोरखापत्र संस्थानको पुस्तकालयमा जयपृथ्वीबहादुर सिंहको स्मृतिग्रन्थ कक्ष स्थापना गरिएको छ । गोरखापत्र प्रकाशनको आसन्न १२६ औँ वार्षिकोत्सव तथा ९९ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसका अवसर पारेर गोरखापत्र संस्थानको पुस्तकालय हाताभित्र जयपृथ्वीबहादुर सिंहको स्मृति कक्ष राखिएको हो । संस्थानका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले स्मृतिग्रन्थ कक्षको उद्घाटन गर्नुभयो ।
गोरखापत्र प्रकाशन सुरु गर्दा भाषा साधक जयपृथ्वीबहादुर सिंहले व्यवस्थापकीय भूमिका रहने दोस्रो तालुकवालका रूपमा विसं १९६० भदौ २२ गतेबाट यहाँ काम थाल्नुभएको थियो । त्यसअघि विसं १९५८ वैशाख १ दी ११ रोज २ मा ‘गोर्खापत्र’ को प्रकाशन निमित्त व्यवस्था गर्ने सनदको निर्माण भएसँगै विसं १९५८ वैशाख २४ मा गोरखापत्र साप्ताहिक रूपमा प्रकाशन सुरु भएको थियो । त्यतिबेला भने प्रथम तालुकवालका रूपमा पण्डित नरदेव पाण्डेय रहनुभएको थियो ।
पुस्तकालयमा स्थापित सिंहको स्मृतिग्रन्थ कक्षमा उहाँको अर्धकदको तस्बिरसँगै उहाँका महìवपूर्ण पुस्तक तथा रचना राखिएको छ । उक्त कक्षमा गोरखापत्रकर्मीका पुस्तकलाई समावेश गरिने भएको छ ।
राष्ट्रिय फोटो पत्रकारिता दिवस
यसैबिच संस्थानले ९९ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । विसं १९८३ वैशाख १३ गते वीरगन्जकी सूर्यमती श्रेष्ठिनीको उद्यमशीलता दर्शाउने तस्बिर पहिलो पटक गोरखापत्रमा छापिएको स्मरणमा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष भण्डारीले गोरखापत्रको
१२६ औँ वार्षिकोत्सव यही वैशाख २४ गतेसम्म विभिन्न कार्यक्रम निरन्तर गरिने बताउनुभयो । उहाँले वार्षिकोत्सवका अवसरमा गोरखापत्रकर्मीबिच उद्यमशीलताको उत्कृष्ट भाव झल्काउने तस्बिर खिच्ने प्रतियोगिता गरिने र २५ हजार रुपियाँको पुरस्कार राशिसहित पुरस्कृत गरिने घोषणा गर्नुभयो ।
प्रतियोगितामा सामेल हुने पत्रकारले कम्तीमा तीन वटा तस्बिर पेस गर्नुपर्ने छ भने निर्णयका लागि संस्थान बाहिरका विज्ञसहित निर्णायक समिति हुने छ । यसबिच राष्ट्रिय फोटोपत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचनका साथै ‘पर्यटन प्रवर्धनमा फोटोपत्रकारको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व. चुङ्वा शेर्पाको स्मृतिमा तीन लाख रुपियाँ राशिको पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटोपत्रकारसँग सहकार्य गर्दै नेपालको फोटो बैङ्क स्थापना गरिने र यसले फोटोपत्रकारको रोजगारीमा सहयोग पुग्ने साथै पर्यटनका लागि प्रचारप्रसारको माध्यम नै फोटो भिडियो भएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले फोटो कपिराइटको विषयमा बोल्दै फोटोपत्रकारका सिर्जना अनुमतिबिना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेको उल्लेख गर्नुभयो ।