• १४ वैशाख २०८३, सोमबार

कक्षा १२ को परीक्षाः गुल्मीमा २१ सयभन्दा बढी सहभागी हुँदै

blog

रमेश विश्वकर्मा
गुल्मी, वैशाख १४ गते।
गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि २१ सयभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन्। आज (सोमबार) देखि २७ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा यस जिल्लाबाट २१ सय ३४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी बिना बस्यालले जानकारी दिनुभयो।

सूचना अधिकारी बस्यालका अनुसार नियमित तर्फका १५ सय ७१ र आंशिक तर्फ ५६३ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा सञ्चालन गर्नका लागि नौ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस जिल्लामा ७१ विद्यालयमा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय रहेको उहाँले बताउनुभयो। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि आवश्यक कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापन गरी सकिएको छ।

जसमा केन्द्राध्यक्ष नौ जना, सहायक केन्द्राध्यक्ष १४ जना, निरीक्षक ११ दिनका लागि ५९६ जना प्रत्येक दिन ५५ जना खटिनेछन्। त्यसैगरी कर्मचारी १४ जना, कार्यालय सहयोगी २३ जना र सुरक्षाकर्मी ९० जना रहनुभएको उहाँले बताउनुभयो। यस जिल्लामा परीक्षा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ।