• १० मंसिर २०८१, सोमबार

लिभरपुललाई हराउँदै आर्सनल पुनः शीर्षस्थानमा

blog

लिभरपुलविरुद्ध गोल गरेपछि खुशी मनाउँदै आर्सनलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज २४ गते । बलियो प्रतिद्वन्द्वी लिभरपुललाई हराउँदै आर्सनल पुनः इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोलले हरायो ।

आर्सनलको जितमा बुकायो साकाले दुई गोल गर्नुभयो । गाब्रियल मार्टिनेलीले एक गोल गर्नुभएको थियो । लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिनोले एक एक गोल गर्नुभयो । मार्टिनेलीले खेलको पहिलो मिनेटमै खाता खोल्नुभएको थियो । ३४औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो ।

पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै आर्सनलाई अगाडि बढाउनुभयो । ५३औँ मिनेटमा लिभरपुलका परिवर्तित खेलाडी रोबर्टो फिर्मिनोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउनुभयो । ४२औँ मिनेटमा चोटका कारण लुइस डियाज बाहिरिएपछि फिर्मिनो मैदान प्रवेश गर्नुभएको थियो । 

त्यसपछि ७६औँ मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई कठिन जित दिलाउनुभयो । गाब्रियल जेससलाई जोटाले फल गरेपछि आर्सनलले पेनाल्टीको मौका पाएको हो । जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले नौ खेलबाट २४ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको साबिक विजेता म्यानचेस्टर सिटीको २३ अङ्क छ । पराजित लिभरपुल १० अङ्कसहित १०औँ स्थानमा छ । 

अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बनाएसँगै म्यानचेस्टर युनाइटेटले एभर्टनलाई २-१ गोलले पराजित गरेको छ । रोनाल्डोले यस खेलमा सिजनको पहिलो गोल गर्नुका साथै क्लब फुटबलमा सात सय गोलको कीर्तिमान बनाउनुभएको हो ।

युनाइटोडको जितमा रोनाल्डोसँगै एन्टोनीले अर्को गोल गर्नुभयो । एभर्टनका एलेक्स इओवीले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै आठ खेलबाट १५ अङ्क बनाएको युनाइटेड पाँचौँ स्थानमा छ । पराजित एभर्टन १० अङ्कसहित १२औँ स्थानमा छ । अन्य खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाइटेडलाई २-१ र वेस्ट हामले फुलहामलाई ३-१ गोलले पराजित गरेको छ । एजेन्सी