• ६ जेठ २०८१, आइतबार

सतर्कतासहित उद्धार सामग्री तयारी अवस्थामा राख्न आग्रह

blog

अविनाश चौधरी

धनगढी, असोज २१ गते । जिल्ला प्रशासन कार्यालय कैलालीले प्राकृतिक विपतका कारण मानवीय तथा आर्थिक क्षति हुन सक्ने भन्दै सतर्क रहन सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

सो कार्यालयले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो । आज कैलाली, कञ्चनपुरको धेरै स्थानमा भीषण वर्षा भइरहेको र खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायतका नदीनालामा बाढी आउने, होचा स्थानमा डुबान हुन सक्ने भन्दै जल तथा मौसमविज्ञान विभागले पनि अलर्ट गरिसकेको छ । 

अविरल वर्षा भइरहेपछि प्रशासनले जिल्लास्थित स्थानीय तहहरु, सुरक्षा निकायहरु, सरकारी कार्यालयहरु, उद्योग वाणिज्य सङ्घ, गैर सरकारी सङ्घ संस्था, पत्रकार, नागरिक समाजसहित सम्पूर्ण सरोकारवालालाई विपतको बारेमा सतर्क रहन आग्रह गरेको छ । यसैगरी, विपतका बारेमा सूचना आदानप्रदान गर्न पनि प्रशासनले आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले विपत राहत तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न र विपत जोखिम न्यूनीकरण गरी मानवीय एवम् भौतिक क्षति हुन नदिनका लागि समन्वय, सहकार्य गर्न सबैमा अनुरोध गरेको छ । 

एक्कासि बाढी आउन सक्ने स्थान, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन, पानीको सतह बढेको समयमा नदी किनारमा माछा मार्ने, दाउरा बटुल्नेलगायतका कार्य नगर्न नगराउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

यसैगरी, विपतसम्बन्धी कुनै पनि घटना भएमा तत्काल नजिकको प्रहरी एकाइ, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।