• १४ वैशाख २०८१, शुक्रबार

मेस्सीको कीर्तिमानी गोलमा पीएसजीको बराबरी

blog

बेन्फिकाविरुद्ध गोल गरेपछि साथीसँग खुशी मनाउँदै पीएसजीका लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, असोज २० गते । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कीर्तिमानी गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा बेन्फिकासँग बराबरीमा रोकिएको छ । 

बुधबार राति भएको खेलमा पीएसजी बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा मेस्सीले भने च्याम्पियन्स लिगमा ४० टोलीविरुद्ध गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउनुभएको छ । प्रतिस्पर्धात्मक खेलमा मेस्सीले २२औँ मिनेटमा गोल गर्नुभएको थियो । 

त्यसपछि डानिलोले ४१औँ मिनेटमा बल बचाउने क्रममा आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पीएसजीले लगातार गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेन । बराबरीसँगै पीएसजी समूह एचको शीर्षस्थानमा छ । 

पीएसजीले तीन खेलबाट सात अङ्क बनाएको छ । समान सात अङ्क बनाएको बेन्फिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको तीन र अन्तिममा रहेको म्याकावी हाईफा अन्तिममा छ । 

बुधबार राति नै भएको खेलमा युभेन्ट्सले म्याकावीलाई ३-१ गोलले हराएको थियो । यसैगरी समूह ईको खेलमा चेल्सीले एसी मिलानलाई ३-० र साल्जबर्गले डी जाग्रेबलाई १-० गोलले हराएको छ । 

समूह जीमा म्यानचेस्टर सिटीले एफसी कोपेनहेगनलाई ५-० र बोरुसिया डर्टमन्डले सेभियालाई ४-१ गोलले पराजित गरेको छ । समूह एफको अर्को खेलमा रियल म्याड्रिडले साख्तार डोनेस्कलाई २-१ गोलले हराएको छ । यही समूहको अर्को खेलमा आरबी लेईपजिगले सेल्टिकलाई ३-१ गोलले पराजित गरेको छ । एजेन्सी