• १६ चैत २०८०, शुक्रबार

नेपाल प्रहरीको मौलो पूजा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १८ गते । नेपाल प्रहरीले मौलो पूजा सम्पन्न गरेको छ । मङ्गलबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा मौलो पूजा सम्पन्न गरिएको हो ।

नेपाल प्रहरीले परम्परागतरुपमा गर्दै आएको मौलो पूजा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

पूजाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बलि पूजा गर्नुका साथै निशानमा पञ्जा छापसमेत लगाउनुभएको छ । उहाँले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभएको हो । 



यस्तै, नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको छ । जसमा दुई वटा निशान छ । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अङ्कित हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्हको हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचैन कायम राख्ने जस्तो संवेदनशील कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्टदेवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ । 

सङ्गठनको कार्य सम्पादनमा कुनै किसिमको अनिष्ट नहोस् र कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रहि आएको छ । नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेको थियो । 

झण्डा प्राप्त गरेदेखि हरेक वर्ष बडादशैँ र चैतेदशैँमा मौलो पूजा गरिन्छ । यसका साथै देशभरका प्रहरी कार्यालयमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा अनुसार सबै प्रहरी एकाइमा विधिवत् मौलो पूजा सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।