सलिम मियाँ
विजुवार, वैशाख २५ गते । प्यूठानमा तीन वर्षअघि भएको सासू हत्या प्रकरणमा प्रहरीले सौतेनी कान्छी बुहारीलाई पक्राउ गरेको छ । स्वर्गद्वारी नगरपालिका–६, डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनार २०७९ मङ्सिर १ गते स्थानीय भुपाल घर्तीको बारीमा मृत अवस्थामा फेला परेकी थिइन् । प्यारालाइसिसका कारण ओछ्यानमै थलिएकी उहाँको टाउकोमा चोट लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनामा मृतककी ३२ वर्षीया सौतेनी कान्छी बुहारी चेती सुनारको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घटनामा तत्काल प्रतिवादी पहिचान हुन नसक्दा मुद्दा लामो समयसम्म ‘पेन्डिङ’ मा रहेको थियो । पछिल्लो अनुसन्धानमा संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार लामो समयदेखि थलिएकी सासुको रेखदेखका क्रममा बुहारीलाई झन्झट बढ्दैगएको र त्यसैक्रममा घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । टाउकोमा प्रहार गरी हत्या गरिएको र शव बारीमा घिसारेर फालिएको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्ला अदालत प्युठानले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । प्रहरीले थप प्रमाण सङ्कलन भइरहेको र निष्पक्ष अनुसन्धानपछि प्रतिवेदन अदालतमा बुझाइने जनाएको छ ।