• १३ साउन २०८१, आइतबार

प्रशासन कार्यालयद्वारा हतियार बुझाउन आग्रह

blog

अमरराज नहर्की 

तनहुँ, असोज १८ गते । जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजतपत्र लिएर वैद्यानिक रूपमा घरमा हातहतियार राख्दै आएका सर्वसाधारणलाई हातहतियार बुझाउन आग्रह गरेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू कात्तिक ४ गतेभित्र बुझाउन प्रशासनले सूचना जारी गरेको हो ।

प्रशासनले यस्ता हतियार नजिकको प्रहरी एकाइमा लगत राख्ने गरी बुझाउन हतियारधनीलाई अनुरोध गरेको छ ।

असोज १३ गते गृह मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार प्रशासनले इजाजतपत्र प्राप्त हातहतियारहरू निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता हुने गरी बुझाउन भने अनुरुप जिल्लामा पनि सो आग्रह गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई, निष्पक्ष, भयरहित, भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरू तोकिएको मितिमा बुझाउन सूचित गरिएको छ । 

सूचनाको बर्खिलाप भए कानुनबमोजिम कारबाही हुनसक्ने प्रशासनले जनाएको छ ।