• १६ चैत २०८०, शुक्रबार

दशैंको सातौँ दिन उपत्यका छाड्नेको लर्को (फोटो फिचर)

blog

काठमाडौँ, असोज १६ गते । दशैं अर्थात् नवरात्र सुरु भएको सातौँ दिन आज आइतबार । दसैँ मनाउन र आफन्तको हातबाट टिका ग्रहण गर्न काठमाडौँ उपत्यकाबाट घर जानेको अझै पनि लर्को लाग्ने गरेको छ । आइतबार र सोमबारसम्ममा उपत्यका छाड्नेहरू अन्तिम हुने गर्छ । 


हिन्दुधर्मालम्वीहरुले दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने गर्छन । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।


नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।


नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।