• १३ साउन २०८१, आइतबार

रोजगारी गुमाएर फर्केकालाई अनुदानमा अटो–रिक्सा

blog

नवीन शिशिर विक 

बागलुङ, असोज १५ गते । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको कुमार राना तीन वर्ष अघि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विश्वव्यापी फैलिएको कोरोनाको कारण उहाँले वैदेशिक रोजगारी गुमाउनुभयो । कामविहीन भएपछि उहाँ नेपाल फर्कन बाध्य हुनुभयो । 

नेपाल फर्के पनि उहाँ बेरोजगार नै बस्नुपर्यो । गाउँघरमा रोजगारका अवसर प्राप्त नभएपछि उहाँले फेरि विदेश जाने योजना बनाउँदै हुनुहुन्थ्यो । तर गाउँपालिकाले रानालाई स्वरोजगार बन्ने अवसर दिएको छ । 

महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरूका लागि गाउँपालिकाले अटो–रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो ।

गाउँपालिकाभित्रै चल्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटो–रिक्सा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो–रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । 

गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो–रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीहरूमा चल्नेछन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पुर्याउने दुवै योजना हो’’ अध्यक्ष शर्माले भन्नुभयो–‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’

पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँहरूमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादर गाउँपालिकाले तोकेर अटो–रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो । 

अनुदानमा अटो–रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उहाँहरूलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो । 

गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुनेछन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो–रिक्सा सञ्चालन, मर्मत र इन्धनको व्यवस्थापन अटो–रिक्सा सञ्चालक आफैँले गर्नुपर्नेछ । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो–रिक्साको लागि व्यवसायीले एक लाख ४७ हजार ४७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।

अटो–रिक्सा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष । नवीन शिशिर विक