• १२ साउन २०८१, शनिबार

‘आमा’हरूको एक्लो दशैँ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । दशैँको उल्लास छ । बजारमा चहलपहल बढेको छ । दशैँमा चाहिने सामग्री किन्न र खर्चको जोहो गर्न सबै व्यस्त रहँदा ९० वर्षीया लक्ष्मीदेवी थापा र ७१ वर्षीया बदना भट्टराईलाई त्यो उल्लासले छोएको छैन ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा रहँदै आउनुभएका थापा र भट्टराईलाई दशैँ आउनुको महìव खासै हुँदैन । उहाँहरूलाई किनमेल गर्ने व्यस्तता छैन, कुनै सामानको जोहो गर्नु छैन । विजयादशमीमा एकआपसमा टीका लगाएर खुसी साटेर उहाँहरू आश्रममै दशैँ मनाउनुहुन्छ । २२ वर्षदेखि वृद्धाश्रममा रहनुभएकी थापालाई लाग्छ, दशैँले कसैलाई खुसी ल्याइदिन्छ, कसैलाई दुःख र ऋण ल्याइदिन्छ, सबै आ–आफ्नो भाग्य !

तर वृद्धाश्रममा रहनुहुने ९५ जना ज्येष्ठ नागरिकचाहिँ आश्रमभित्रै दशैँ मनाउने गरेका छन् । उहाँले भन्नुभयो, “हाम्रो परिवार यही हो, दशैँ यहीँ मनाउँछौँ ।” वृद्धाश्रम जानुअघि थापा बानेश्वरमा काम गर्नुहुन्थ्यो । उहाँले विवाह गर्नुभएन । उमेरभरि अर्काको घरमा काम गर्नुभएकी थापा उमेर ढल्केपछि वृद्धाश्रम पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “परिवार भए दशैँको उल्लास अर्कै हुन्थ्यो होला, म एक्लो मान्छे, एक्लै रमाइलो छ ।” 

सात महिनादेखि वृद्धाश्रममा बस्दै आउनुभएकी भट्टराईको सङ्घर्ष ज्यादै मर्मस्पर्शी छ । उहाँको जन्म खोटाङको खाम्तेलमा भएको हो । उहाँको विवाह १४ वर्षमै खोटाङकै रामकुमार भट्टराईसँग भयो । उहाँले दुई महिना मात्रै श्रीमान्को साथ पाउनुभयो । 

२०२३ फागुनमा विवाह गर्नुभएकी भट्टराईका श्रीमान् २०२४ असारदेखि बेपत्ता हुनुहुन्छ । छोराछोरी छैनन् । उहाँले भन्नुभयो, “काठमाडौँतिरै हुनुहुन्छ भन्ने सुनेकी छु । कसैले जोगीको भेषमा हिँड्ने गरेको सुन्छु तर यत्रो वर्षभयो, भेट भएन ।”

खोटाङबाट २०५६ मा विराटनगर आएर बस्नुभएकी भट्टराईले श्रीमान् भेटिएपछि सँगै दशैँ मनाउने आशा बोक्नु नै भएको छ । गहभरि आँसु बनाउँदै उहाँले भन्नुभयो, “पशुपतिमै दशैँ मनाउँछु, टीकाको दिन भान्जाभान्जी आउनुहुन्छ । उहाँको घर जान्छु । चाडबाड आउँदा कस्तो–कस्तो त लागिहाल्छ नि ।”

समाज कल्याण केन्द्र वृद्धाश्रम कार्यालयका प्रमुख ओमप्रसाद पाण्डेले दशैँको 

खुसियाली आश्रमका सबै बुवाआमामाझ बाँड्ने र टीका लगाएर शुभकामना आदानप्रदान गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “वृद्धाश्रममा धेरै ठाउँबाट विभिन्न उमेर समूहका ज्येष्ठ नागरिक आउनुभएको छ । सकेसम्म राम्रो वातावरण बनाउन र दशैँको खुुसियाली बनाउने प्रयत्नमा हामी छौँ ।”