• १५ वैशाख २०८१, शनिबार

खानेपानीका धारा घरघरमा

blog

तिलाचन पाण्डे

तम्घास, असोज १२ गते  । गुल्मी जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत २२ हजार ४३२ घरधुरीमा खानेपानी वितरण गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिकामा चार हजार ९३२ घरधुरीमा एक घर एक धारा वितरण गरिएको पालिकाका सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले बताउनुभयो । 

नगरभित्र ४९ वटा योजना सम्पन्न भएका र यसका लागि ६० करोड रुपियाँ बजेट लगानी भएको उहाँको भनाइ छ । कुल छ हजार सात सय घरधुरी रहेका र बाँकी घरधुरीमा पनि यसै आर्थिक वर्षमा घारा पु-याउने लक्ष्य छ । 

धुर्कोट गाउँपालिकाका चार हजार घरधुरीमा एक घर एक धारा पुगेको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कुल पाँच हजार चार सय घरधुरीमध्ये चार हजार घरधुरीमा एक घर एक धारा जडान गर्दा करिब २० करोड रुपियाँभन्दा बढी रकम खर्च भएको छ । बाँकी घरधुरीमा आगामी दुई वर्षभित्र एक घर एक धारा पु¥याउने लक्ष्य रहेको जानकारी उहाँले दिनुभयो । इश्मा गाउँपालिकाका दुई हजार चार सय घरधुरीमा धारा पुगेको पालिकाका सूचना अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

करिब पाँच हजार घरधुरीमध्ये बाँकी घरधुरीमा पनि एक घर एक धारा पुग्ने प्रक्रियामा छ । दुई हजार चार सय घरधुरीमा खानेपानीका धारा जडान गर्दा करिब १४ करोड खर्च भएको जानकारी उहाँले दिनुभयो । गुल्मीदरबार गाउँपालिकाले चार हजार आठ सय घरधुरीमध्ये एक हजार आठ सय घरधुरीमा एक घर एक धारामार्फत खानेपानी पुगेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । बाँकी घरधुरीमा पनि एक घर एक धारा पु-याउने गरी आफूहरू अभियानमै लागेको दाबी उहाँको छ । एक हजार आठ सय घरधुरीमा एक घर एक धारा खानेपानी पु¥याउँदा करिब १४ करोडभन्दा बढी रकम खर्च भएको पाण्डेले बताउनुभयो ।

यसैबीच कालीगण्डकी गाउँपालिकाका करिब तीन हजार पाँच सय घरधुरीमध्ये करिब एक हजार घरधुरीमा खानेपानी पुगेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।

चन्द्रकोट गाउँपालिकामा पाँच हजार एक सय घरधुरीमध्ये चार हजार सात सय घरधुरीमा खानेपानी पुगेको छ । यसका लागि करिब १० करोड रुपियाँ खर्च भएको पालिकाले जनाएको छ । मदाने गाउँपालिकामा चार हजार नौ सय घरधुरी रहेकामा तीन हजार छ सय घरधुरीमा एक घर एक धारामार्फत खानेपानी पुगेको सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिनुभयो । यो कार्यक्रममा करिब १२ करोड रुपियाँ खर्च भएको छ ।