• १६ चैत २०८०, शुक्रबार

दशैँ बजारमा छुटका नाममा लुट

blog

सीता शर्मा

काठमाडौँ, असोज ११ गते । दशैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ता, चप्पललगायतका सामानको कारोबार धेरै हुने गरेका छन् । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दशैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भीड छ । दशैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिक बजारमा भीड लाग्छ । 

न्युरोडमा सारी, कुर्था, टप्स् पसलमा काम गर्ने एक कर्मचारीले भन्नुभयो, “दशैँअगाडि एक हजारमा बिक्री गर्दै आएको टप्स् अहिले प्रतिपिसमा ५०० रुपियाँ बढाई एक हजार पाँच सय रुपियाँ पु¥याएर प्रतिपिसमा २० प्रतिशत छुट भनिएको छ, यो मात्रै होइन, सारी र कुर्था पनि त्यस्तै छ ।” “बच्चाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ । उपभोक्ता फ्रीमा पाएजस्तै गरी भीड लागेर पानी पिउन पनि पाइँदैन,” उहाँले थप्नुभयो । 

यस्तै रञ्जना गल्लीमा जुत्ता पसलका काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, “सेल भनेका ठाउँमा धेरै ठूलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनुपर्छ, कि गुणस्तरमा समस्या हुन्छ कि मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनुपर्छ ।” भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा दुई छोरासहित उत्साहित भएर जुत्ता किन्न आउनुभएका बद्री अधिकारी जुत्तै नकिनी फर्किनुभयो । मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आउनुभएका उहाँले भन्नुभयो, “जुत्ता मेलामा केको छुट हुनु ? छुटका नाममा लुट रहेछ । न राम्रो न सस्तो, कालोबजारी यहीँ छ । बजारमा सजिलै एक हजार पाँच सयमा पाइने जुत्ता यहाँ दुई हजार पाँच सय रुपियाँ तोकेर २० प्रतिशत छुट भनेर झुक्काइएको छ ।”

उपभोक्ता अधिकारकर्मीले चाडपर्वका बेलामा बजारमा छुट र सेलका नाममा सीमित व्यापारीले लुट मच्चाउँदासमेत सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाएका छन् । 

उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले चाडपर्वका बेलामा यस पटक मात्रै होइन, हरेक वर्ष सेल र छुटका नाममा आमउपभोक्तामा भ्रम सिर्जना गरेर ठूलो परिणाममा ठगी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “छुट र सेलका नाममा कति लुट हुन्छ भन्ने कुरा त तीन वर्षअगाडि दरबारमार्ग र न्युरोडको जुत्ता पसलले गरेको कामले पुष्टि हुन्छ ।” 

सरकारका नियमनकारी निकायले मूल्यको अनुगमन गर्न नसक्दाको परिणाम भएको उहाँको भनाइ छ । अनुगमन त खाली साना लगानीका पसल अनुगमन गरेर उपभोक्तालाई झुक्याउने काम मात्रै भएको आरोप उहाँले लगाउनुभयो ।  नियमनकारी निकायको अकर्मण्यता र कमजोरीको फाइदा व्यापारीले उठाउँदै आएको भन्दै उहाँले भन्नुभयो, “सेलका नाममा उपभोक्ता तीन किसिमबाट ठगिएको हुन सक्छन् । पहिलो स्टक क्लियरेन्स भन्नेबित्तिकै गुणस्तर समस्या हुन्छ, दोस्रो मूल्यमा मनपरी, तेस्रो कुरा उपभोक्ताको नयाँ ब्रान्ड खोज्ने अधिकार वञ्चित हुन्छ ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बजारलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिँदासम्म सरकारका नियमनकारी निकाय उपभोक्ताले अनुभूत गर्नेगरी अनुगमन गर्न नसकेको बताउनुभएको थियो । 

“छुट र सेल के आधारमा दिइएका छन् भन्ने कुरा बुझ्नुपर्दैन ?” अर्का उपभोक्ता अधिकारकर्मी विमला खनालले प्रश्न गर्नुभयो । उहाँले सुरुमै मूल्य बढाएर छुट दिएका छन्, यसमा सरकारको नियमनकारी निकायले मूल्यको अनुगमन गर्नुपथ्र्यो तर हुनसकेको छैन भन्नुभयो । 

सेल र छुटका नाममा नेपाली उपभोक्ता ठूलो ठगीमा परेका छन् तर सरकारको चाडपर्वलक्षित अनुगमनको त्यस क्षेत्रतर्फ ध्यान जान सकेको छैन । दशैँ भनेको हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि चाड हो तर पनि बजारमा खुलेआम लुट हुँदासमेत सरकारका नियमनकारी निकाय जहाँ सजिलो छ, त्यही अनुगमन गर्ने गरेको बताउनुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं अनुगमन संयोजक होमनाथ भट्टराईले विभागको नेतृत्वमा दैनिक १०÷११ वटा टोलीले ५० भन्दा बढी पसलको अनुगमन गरिरहेको तर सेल र छुट गरिएका पसलमा अहिलेसम्म अनुगमन नभएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “चाडपर्वका बजारमा उपभोक्तालाई आकर्षण गर्न खाद्यदेखि लत्ताकपडा, जुत्तासम्मका सामान छुट र सेल भनेर बिक्री गर्ने गरिएको छ तर यस विषयमा अहिलेसम्म विभागको अनुगमन टोलीले मूल्य, गुणस्तरबारे बुझ्ने काम गरेको छैन, अब भने बुझ्नुपर्छ ।”