• १३ साउन २०८१, आइतबार

विद्युतीय राहदानी लिन झन्झटिलो

blog

नवलपरासी समाचारदाता

नवलपरासी, असोज १० गते । सरकारले विद्युतीय राहदानी वितरण गर्ने प्रक्रिया सुरु गरे पनि प्रक्रिया झन्झटिलो भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्। विद्युतीय राहदानी जारी भएको महिनौ बितिसक्दा पनि सेवाग्राहीले राहदानी लिन अनलाइन फाराम भर्न बिहानको दुई बजेदेखि नै लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यता रहेको कावासोतीका गोपाल बस्ताकोटीले बताउनुभयो।

विद्युतीय राहदानी प्रणाली लागू भएपछि अनलाइन फाराम भर्न सेवाग्राही हरेक दिन रातिदेखि लामबद्ध भएर फाराम भर्न लागिपरे पनि यो व्यवस्थित बन्न नसक्दा महिनौँसम्म पनि राहदानीको अनलाइन कोटा सकिएको भन्दै फाराम भर्न नै नपाएको बुलिङटारका सेवाग्राही रुमबहादुर मगरले गुनासो गर्नुभयो।

राहदानी फाराम भर्न आएकाले लाइनमा बसेर फाराम भर्न घण्टौँ कुर्दा पनि नपाउनु र विद्युतीय राहदानीको निश्चित कोटा कायम गरिनुले पनि यो प्रणालीबाट फाराम भर्न र राहदानी लिन सेवाग्राहीलाई सकस भएको हो। जिल्ला प्रशासन कार्यालय नवलपरासीपूर्वले गत आर्थिक वर्षमा झन्डै छ करोड रुपियाँ राहदानीबाट राजस्व असुली गरेकोमा अहिले दैनिक कोटा बन्दा ३० भन्दा बढी राहदानी जारी गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो।

राहदानी वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले टोकनको व्यवस्था गरेको छ। कर्मचारी अभावका कारण अझै पनि सोचे जस्तो गरी राहदानी वितरण प्रक्रियालाई सहज बनाउन नसकिएको र चाँडै नै सहज बनाइने गरी काम अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो। राहदानी वितरणलाई व्यवस्थित र सजिलो बनाउन जिल्ला प्रशासन कार्यालयले निवेदन दिएकाहरूको हकमा एक हप्तादेखि १५ दिनसम्म राहदानी प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाएको घिमिरेले जानकारी दिनुभयो।