• ६ कात्तिक २०८१, मङ्गलबार

धार्मिक सहिष्णुता आवश्यक : गृहमन्त्री खाण

blog

गृहमन्त्री बालकृष्ण खाण भैरहवामा धर्मशाला उदघाटन गर्नुहुँदै । तस्बिर : श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुम्बिनी, असोज ९ गते । गृहमन्त्री बालकृष्ण खाणले नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक मुलुक भएकाले धार्मिक सहिष्णुता सधैं आवश्यक पर्ने बताउनुभएको छ । नेपालको विविधता नेपालको सम्पत्ति भएकाले यसलाई अवसरको रूपमा लिनुपर्ने उहाँको भनाइ छ । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –६ गल्लामण्डीस्थित शिव मन्दिर धर्मशालाको आइतबार उदघाटन गर्नुहुँदै गृहमन्त्री खाणले सो कुरा बताउनुभएको हो । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय मुलुक भएकाले ठूलो सङ्ख्याको हिन्दु समुदायले अन्य समुदायलाई सम्मान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

कुनै पनि द्वन्द्वले मुलुक र जनताको हित नहुने भन्दै उहाँले नेपालले बेलाबेलामा ठूलो द्वन्द्व हुनु गलत भएको बताउनुभयो । नेपाली कांग्रेसका नेता समेत रहनुभएका मन्त्री खाणले रुपन्देहीको विकासले यहाँका नागरिक तथा उद्योगी व्यवसायीलाई मात्र नभई समग्र नेपालीलाई प्रतिफल दिने विकासका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताउनुभयो । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको र अन्य एयरलाइन्स ल्याउनका लागि प्रयत्न भइरहेको जानकारी गराउनुभयो । उहाँले उद्योगी व्यवसायीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले देशभरिका उद्योगी व्यवसायीको सुरक्षामा गम्भीरताकासाथ लाग्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसिउद्दीन खानले मठ, मन्दिर, शिक्षा क्षेत्रमा विकासमा मन्त्री खाणले महत्त्वपूर्ण कार्य गर्नुभएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो ।  

पर्यटन डिभिजन कार्यालय रुपन्देहीको १० लाख र स्थानीयवासीको ५ लाख गरी १५ लाखको लगानीमा धर्मशाला निर्माण गरिएको सिद्धार्थनगर –६ का वडाध्यक्ष  वीरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिनुभयो ।