• १० मंसिर २०८१, सोमबार

गरिबलाई पनिआओस् दशैँ

blog

दशैँ नेपालीको घरआँगनमा आइपुगेको छ। पोहोर–परार हर्ष, उल्लास र खुसीसहित दशैँ आएको थिएन। कोरोना कहरले विश्वजगत्लाई नै थरथर कमाइरहेका बखत दशैँ रौनकसहित आएको थिएन। यस पटक कोरोनाको प्रभाव न्यून छ। बरु देशभर फैलिएको डेङ्गु ज्वरोले धेरैलाई आहत तुल्याएको छ तर पनि दशैँ विगतभन्दा उत्साहप्रद रूपमा भित्रन थालेको छ। बजार तातिएका छन्। किनमेल तीव्रतर हुन थालेको छ। बजारमा घुइँचो बढिरहेको छ। सरकारले पनि देशैभर दशैँ विशेष खाद्य सामग्री सहुलियत मूल्यमा बेच्ने हिसाबको सुपथ मूल्य पसल सञ्चालन गरिसकेको छ। हवाई तथा स्थलमार्ग भएर यात्रुको ओहोर–दोहोर सहजका लागि अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ। राष्ट्र बैङ्कले नयाँ नोट निष्कासन गरेर बाँड्न थालिसकेको छ। दशैँले नेपालीलाई छपक्कै छोइसकेको छ।

बजारमा तरकारी, दाल, तेल, गेडागुडीलगायतको भाउ बढिरहेको छ । मुद्रास्फीति ८ प्रतिशत नाघेको छ। महँगी नियन्त्रण र बजार अनुगमन प्रभावकारी हुन सकिरहेको छैन। व्यवसायीले पनि दशैँ–तिहारलाई अवसर पारेर वस्तुभाउको मूल्य अचाक्ली बढाउने गरेका छन्। बजारको मनपरिलाई कसैले छेक्न सकेको छैन। चाडबाडमा हुने महँगी र ठगी नियन्त्रणमा सरकारले यथोचित ध्यान दिन जरुरी छ। सरकारले ती कुरा नियन्त्रण गर्न सक्यो, गरिब जनतामा राहत दिन सक्यो भने मात्रै दशैँले सबै जनताको घरघरमा उल्लास ल्याउनेछ। दशैँ नजिकिएसँगै विदेशमा श्रम बेचिरहेका नेपाली दाजुभाइ दिदीबहिनी घर फर्कने क्रम सुरु भएको छ। रेमिट्यान्स आप्रवाह बढेको छ। व्यापारीको व्यापार बढेको छ। बजारमा पैसाको पनि प्रवाह बढ्न थालेको छ। 

किनमेलको पर्व दशैँ

मुख्यतया नेपालीको वर्षभरिमा हुने खर्चको ६० प्रतिशत हिस्सा दशैँले लिने गरेको अनुमानित आँकडा छ। अन्य समयमा नेपालीले खासै खर्च गर्ने गर्दैनन्। दशैँका बेला लत्ताकपडादेखि राम्रा घरायसी सामानसमेत खरिद गर्ने नेपाली प्रचलन छ। जसकारण अनेकन मेला महोत्सव यसै समयमा हुने गरेको छ। दशैँ र तिहारमा नेपाली ऋण–धन गरेरै आफ्ना इच्छा र आवश्यकताका सामान किन्ने गर्छन्। फलस्वरूप दशैँ महँगो हुने गरेको छ। अझ हिजोआज त दशैँ अत्यन्त देखासिखी र विलासी पनि हुँदै गएको छ। तर ‘आयो दशैँ ढोल पिटाई, गयो दशैँ ऋण बोकाई’ भन्ने पुरानो नेपाली उखान गरिब–गुरुवाका हकमा आज पनि लागू हुन्छ। खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैँ राम्रैगरी मनाउलान् तर गरिब तथा असहायको हकमा दशैँ पीडादायक हुने गरेको छ। 

खासगरी दक्षिण एसियामै सम्भवतः सबैभन्दा बढी धनी–गरिबबीचको असमानता कायम रहेको र ०७२ वैशाखमा गएको महाभूकम्प, ०७४ साउनमा भएको तराई क्षेत्रको बाढी एवं डुबान र पछिल्लो दुई/तीन वर्षयताको त्रासदीपूर्ण कोरोना महामारीले लाखौँ जनता गरिबीको सूचीमा थपिएका छन्। जसकारण गरिबीको तथ्याङ्क घटेको छैन। यसैमा नेपालमा दशैँ पर्व थप गरिबी बढाउने पर्व हुने गरेको जस्तो देखिन्छ। गरिबी र दशैँको सम्बन्ध सौहार्दहीन एवं पेचिलो बन्दै गएको महसुस हुन्छ। यद्यपि दशैँ हाम्रो महान् राष्ट्रिय गौरवको पर्व हो। दशैँ हाम्रा पिता पुर्खाहरूदेखि नै नेपालीले नेपालीपन र नेपाली हुनुको गौरवसाथ मनाउँदै आएको मौलिक पर्व हो। दशैँको सान्दर्भिकता पछिल्ला वर्षहरूमा झन्झन् बढ्दै गएको महसुस हुन्छ। किनकि नेपाली संसारका अधिकतम राष्ट्रमा रोजगारी र अन्य सिलसिलामा बाहिरिएका छन्। झन्डै ६० लाख नेपाली यतिबेला विश्वका विभिन्न देशमा छरिएका छन् तर तिनका लागि स्वदेश फिर्तीको साइत सामान्यतया दशैँ–तिहारले नै जुराइदिएको हुन्छ। विश्वभर छरिएर रहने नेपाली प्रकृति र प्रवृत्तिलाई एकीकरण गर्ने काम वास्तवमा विजया दशमीले नै गरिरहेको छ। यस हिसाबले दशैँको महिमा झन् बढेको छ। 

दशैँ एउटा मनाउनका लागि मनाइने पर्व मात्र नभएर नेपाली मौलिकता, नेपाली स्वाभिमान, नेपाली गौरव, नेपाली पहिचानको एउटा शक्तिशाली विम्बसमेत हो। विश्वसामु गौरव गर्ने र पहिचान दिलाउने सांस्कृतिक धरोहर दशैँ नै हो भन्दा हुन्छ। नेपाली जहाँ पुगोस्, जे–जस्ता दुःख, वेदना र कर्म गर्न पुगोस्, जे–जस्तो वातावरणमा खुम्चन पुगोस्, कम्युनिस्ट बनोस् या क्रान्तिकारी उसको निम्ति दशैँ जीवनको अमूल्य अङ्ग नै बन्ने गर्छ। नेपालमै पनि शास्त्रीय माक्र्सवादको बर्दी ओढेर ढोँग पिट्नेहरू र धर्मकर्मलाई तिलाञ्जलि दिनेहरूसमेत दशैँमा रमझममा व्यस्त हुन्छन्। यस हिसाबले विजयादशमी नेपालीका लागि महान् उत्सव हो। राजनीतिक आन्दोलन र त्यसका उपलब्धिहरू वास्तविक रूपमा तल्लो तहका जनताको हितमा हुन नसक्दा मुलुकमा धनी र गरिबबीचको असमानता तुलनै गर्न नसकिने गरी फराकिलो हुँदै छ। सरकारी तथ्याङ्कले १९ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको तथ्याङ्क जाहेर गरे पनि यूएनडीपीलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले प्रक्षेपण गरेको तथ्याङ्कमा नेपालमा झन्डै ४० प्रतिशत नेपाली गरिबीकै रेखामुनि छन्। 

धनी–गरिबबीचको यस्तो असमान अवस्थाको अन्त्य नहुँदासम्म सबैका लागि दशैँ दशैँ हुन सक्ने स्थिति छैन। यसर्थ दशैँको रौनक र उत्साहमा समानता ल्याउन सर्वप्रथम गरिबी निवारणलाई जोड दिनुपर्ने अवस्था छ। सरकारले धनी र गरिबबीचको आर्थिक खाडल कम गर्ने गरी कर प्रणाली अपनाएको भए, विकास कार्यक्रम अघि बढाएको भए, स्वास्थ्य–शिक्षा दिलाएको भए, बजेटमार्फत सन्तुलित विकासनिर्माण गरेको भए यस्तो अवस्था आउने थिएन। विडम्बना पछिल्लो समय प्रदेश तथा स्थानीय सरकारहरूले गरिबमारा ढङ्गको करको बोझ स्थानीय तहमा थोपरेका छन् तर कर लिएबापतको विकासको दायित्वबाट सरकार चुकेका छन्। 

नेपालमा ०१३ सालदेखि नै गरिबी निवारणको योजनाबद्ध कार्यक्रम थालनी भए पनि गरिबी र असमानताको दर झनै वृद्धि हुँदै आएको छ। गरिबी निवारण र योजनाबद्ध आर्थिक विकासका कार्यक्रम एकपछि अर्को गर्दै असफल भएका कारणबाट आज पूरै देश रेमिट्यान्स आयमा निर्भर हुन पुगेको छ। सक्रिय युवा जनशक्ति पूरै पलायन छन्। देशको राजनीतिक व्यवस्था र संरचना अझै व्यवस्थित हुन सकेको छैन। नेपाल एसियामा अफगानिस्तानपछि दोस्रो गरिब र पूरै विश्वमा गरिब देशहरूमध्ये नम्बर ४० भित्र छ। आर्थिक विकासको हेतुले अहिले आएर भुटानले समेत नेपाललाई उछिनिसकेको छ। देशको यस्तो अर्थराजनीतिक अवस्थामा भित्रँदै गरेको विजयादशमी कसरी सबैका लागि सुखद रहला ? कसरी उल्लासमय रहला ? भन्नेमा आशङ्का छ।

तर पनि सरकारले सबै जनताको दशैँ दशैँजस्तो बनेको हेर्न चाहन्छ भने दशैँ विशेष वैज्ञानिक कार्यक्रम ल्याउनैपर्छ। गरिब जनतालाई केन्द्रित गरेर दशैँसम्बन्धी राहत कार्यक्रम ल्याउनैपर्छ। गरिबका लागि पनि दशैँ हुनका लागि सरकारले न्यूनतम आधार तय गर्नैपर्छ। अन्यथा सुदूरपश्चिमका भोकमरीग्रस्त बजाङ, बाजुरा, दाचुला, अछाम, बैतडी, हुम्ला, जुम्लालगायतका जिल्लाका अति गरिब जनताको दशैँ दशामा सीमित हुनेछ। त्यस्तै भूमिहीन जनता जो आजै कमाएर आजै खाने खालका हुन्छन्, तिनको दशैँ दशा मात्रै हुन्छ। यसर्थ सरकारले दशैँ समान स्तरको, उल्लासमय, सुखप्रद बनाउन र महँगी एवं अराजकता रोकी जनताको जिउधनको सुरक्षा गर्न विशेष कार्यक्रम ल्याउन जरुरी छ।