• ८ वैशाख २०८१, शनिबार

पाटन विमानस्थल छ महिनादेखि बन्द

blog

गोकर्ण दयाल 

बैतडी, असोज ७ गते  । दुई वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थलमा छ महिनादेखि उडान हुन सकेको छैन । २०७७ असोज १७ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो विमानस्थलको उद्घाटन गर्दै बैतडीबाट नियमित हवाई सेवा सञ्चालन हुने आश्वासन दिनुभएको थियो । 

विमानस्थल कालोपत्रे भएपछि हप्तामा एक पटक धनगढी–बैतडी उडान हुँदै आएको थियो तर छ महिनादेखि उडान ठप्प भएको हो । करिब १७ मिनेटको बैतडी–धनगढी उडानको चार हजार पाँच सय रुपियाँ भाडा लिएर प्रत्येक हप्ताको बिहीबार समिट एयरले उडान भर्दै आएकामा २०७८ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । त्यसयता उडान भएको छैन ।

ठूलो लगानी गरेर निर्माण गरिएको विमानस्थल उपयोगविहीन बन्दा जनताले राज्यको स्रोतसाधनबाट उचित लाभ लिन नसकेको पाटनका वसन्त बिष्टले बताउनुभयो । बैतडी विमानस्थलमा यात्रुको कमी र बारम्बारको प्रतिकूल मौसमका कारण उडान बन्द गर्नुपरेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताउनुभयो । यसअघि दशैँसम्ममा उडान सुरु हुने बताइए पनि दशैँ–तिहारअघि उडान गर्न सम्भव नभएको भट्टले जानकारी दिनुभयो । 

२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्वका बेला संरचना ध्वस्त भएपछि २०५२ देखि बन्द रहेको थियो । २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको धावन मार्गसहित अन्य भौतिक संरचना पुनर्निर्माण गर्न नेपाल सरकारले बजेट दिएको थियो । ११ करोड रुपियाँको खर्चमा चार वर्ष लगाएर निर्माण भएको हो ।