• १३ साउन २०८१, आइतबार

प्रदेश सभाले गर्‍यो पचास करोड खर्च

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, असोज ६ गते । कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा करिब ५० करोड रुपियाँ खर्च भएको छ। गएको पाँच वर्षमा प्रदेश सभा सचिवालयले ४९ करोड १५ लाख ९८ हजार ९३९ रुपियाँ खर्च गरेको हो। त्यसमध्ये चालू आवमा ३७ करोड २८ लाख ६६ हजार ५३ रुपियाँ र पुँजीगततर्फ ११ करोड ३७ लाख ३२ हजार ८८६ रुपियाँ खर्च भएको छ। 

उक्त रकम प्रदेश सभा सदस्यको पारिश्रमिक, बैठक भत्ता, भ्रमण भत्ता, अतिथि सत्कार, सञ्चार, निजी सचिवालय व्यवस्थापन, आवास, औषधि उपचार र पदाधिकारीको यातायात सुविधा, सचिवालयमा कार्यरत कर्मचारीको तलब भत्ता, सवारीसाधन खरिद, मर्मतलगायतका शीर्षकमा खर्च गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले आर्थिक वर्ष २०७४/७५ मा चार करोड ५६ लाख ७० हजार १४९ रुपियाँ खर्च भएको जानकारी दिनुभयो। उक्त आर्थिक वर्षको अन्तिम चौमासिकमा कार्यकाल सुरु भएको थियो।

उहाँका अनुसार प्रदेश सभा सचिवालयले आर्थिक वर्ष २०७५/७६ मा ११ करोड ३५ लाख ६७ हजार ४८२ रुपियाँ, २०७६/७७ मा १० करोड ७० लाख २१ हजार ८५१ रुपियाँ, २०७७/७८ मा १० करोड ५६ लाख ६६ हजार ८३६ रुपियाँ र २०७८/७९ मा ११ करोड ९६ लाख ७२ हजार ६१९ रुपियाँ खर्च भएको सचिवालयको विवरणमा उल्लेख छ। 

सुरुवातीमा कर्णाली प्रदेश सभा ४० सदस्यीय थियो। कार्यकाल सकिँदा भने ३४ जना प्रदेश सभा सदस्य रहेका थिए। प्रदेश सभाले गरेको यो खर्च मन्त्रिमण्डल अर्थात् मुख्यमन्त्री र मन्त्रीबाहेक प्रदेश सभा सदस्यहरूको हो। मुख्यमन्त्री र सात मन्त्रीको सेवासुविधा भने प्रदेश सभा सचिवालयले उपलब्ध गराउँदैन। प्रदेश सभा सचिवालयले सभाका सभामुख, उपसभामुख, विपक्षी दलका नेता तथा दलका सचेतक र संसदीय समितिका सदस्यलाई सवारीसाधन उपलब्ध गराउँदै आएको छ। 

सचिवालयका अनुसार सबैभन्दा धेरै खर्च प्रदेश सभा सदस्यको पारिश्रमिक र सेवासुविधामै भइरहेको छ। आर्थिक वर्ष २०७४/७५ का चार महिनामा एक करोड १६ लाख ६१ हजार ४०७ रुपियाँ प्रदेश सभा सदस्यको पारिश्रमिक र अन्य सुविधामा मात्रै खर्च भएको तथ्याङ्क छ। 

यस्तै आर्थिक वर्ष २०७५/७६ मा पारिश्रमिकलगायतका सुविधामा दुई करोड ५६ लाख ६७ हजार ९७६ रुपियाँ, २०७६/७७ मा दुई करोड ९७ लाख ४३ हजार २८१ रुपियाँ र आर्थिक वर्ष २०७७/७८ मा तीन करोड तीन लाख ३९ हजार ८४६ रुपियाँ खर्च भएको छ भने आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सभा सदस्यका लागि दुई करोड ८२ लाख ९८ हजार १९१ रुपियाँ खर्च गरिएको छ।