• १२ मंसिर २०८१, बुधबार

वीर अस्पतालअगाडिका औषधि पसल हटाउन निर्देशन

blog

काठमाडौँ, असोज ६ गते । वीर अस्पताल अगाडिका टहरामा रहेका औषधि पसल हट्ने भएका छन्। काठमाडौँ महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिएको छ तर फार्मेसी सञ्चालकले भने महानगरपालिकाले भने जस्तो २४ घण्टाभित्र औषधि पसल (फार्मेसी) हटाउन नसकिने बताएका छन्। 

काठमाडौँ महानगरपालिकाका प्रहरीप्रमुख राजु पाण्डेले भोलि (बिहीबार) दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर हटाउने जानकारी दिनुभयो। ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने भन्दै नक्साविपरीत रहेका औषधि पसल हटाएरै छाड्ने बताउनुभयो। महानगरपालिकाका प्रहरीप्रमुख पाण्डेले बुधबार अपराह्न ३ बजे वीर अस्पताल परिसरमा गई औषधि पसल सञ्चालकलाई २४ घण्टाभित्र पसल हटाउन निर्देशन दिनुभएको थियो । यसअघि पनि वीर अस्पतालले उक्त टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो। प्रहरीप्रमुख पाण्डेले वीर अस्पतालअगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्साविपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको जानकारी गराउनुभयो। 

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले टहरामा रहेका फार्मेसी हटाउँदा अस्पताललाई कुनै हानि नहुने बताउनुभयो। उहाँले सुरु–सुरुमा बिरामीलाई समस्या पर्ने भन्दै केही समयपछि समस्या समाधान हुँदै जाने बताउनुभयो। ती फार्मेसीबाट अस्पतालले पनि मासिक लाखौँ आम्दानी गरिरहेको थियो। निर्देशक डा. बस्नेतले हाल औषधि पसल रहेको ठाउँमा नक्साअनुसार बगैँचा निर्माण गरिने जानकारी दिनुभयो। 

पाण्डेले यसअघि नै ३५ दिने सूचना जारी गरेको भन्दै बुधबार पुनः २४ घण्टाभित्र औषधि पसल नहटाए डोजर चलाइने जानकारी फार्मेसी सञ्चालकहरूलाई दिएको बताउनुभयो। फार्मेसी सञ्चालक नवराज खनालले महानगरपालिकाले कम समय दिएर पसल हटाउने अल्टिमेटम दिएको जानकारी दिनुभयो। उहाँले कम्तीमा १५ दिनको सूचना जारी गर्नुपर्ने भन्दै औषधि बोरामा हालेर लैजान नमिल्ने भएकाले समय थप गर्नुपर्ने बताउनुभयो। उहाँले कतिपय औषधि फ्रिजमा रहेकाले फ्रिजमा भएको औषधि तत्काल खाली गर्न नमिल्ने बताउनुभयो।