• १९ असार २०८१, बुधबार

उपचारका लागि डा. केसी काठमाडौं प्रस्थान

blog

अविनाश चौधरी

धनगढी, असोज ५ गते । स्वास्थ्य अवस्था जटिल बनेपछि धनगढीमा अनशनरत डा. गोविन्द केसी थप उपचारका लागि बुधबार काठमाडौं प्रस्थान गर्नुभएको छ । आफ्नै खर्चमा उहाँ काठमाडौं जान तयार हुनु भएपछि उहाँलाई आज बुधबार काठमाडौं लगिएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अपरान्ह ५ बजेको उडानबाट डा. केसीलाई काठमाडौं लगिएको हो । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै धनगढीमा आफ्नो २० औं सत्याग्रह केसीले थाल्नुभएको छ ।

सत्याग्रहको १० औं दिन पुग्दासम्म स्वास्थ्य अवस्था नाजुक बनेपछि सेती प्रादेशिक अस्पतालको सल्लाहअनुसार उहाँलाई उपचारका लागि काठमाडौं लगिएको छ । स्वास्थ्य अवस्था बिग्रेका कारण मङ्गलबार नै उहाँलाई काठमाडौं लग्नका लागि नेपाल सरकारले नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाएको थियो । 

डा. केसीले त्यसमा जान अस्वीकार गरेपछि स्काइ ट्रक काठमाडौं फर्केको थियो । चिकित्सकको आग्रहमा बुधबार उहाँ आफ्नै खर्चमा काठमाडौं जान तयार हुनुभयो । सेती प्रादेशिक अस्पतालका अनुसार डा. केसीको रक्तचाप र मुटुको धडकनमा गडबडी छ ।

यसैगरी उहाँको पेटमा कडाखाले अल्सर भई रक्तस्रावको आशङ्का गरिएको छ । शरीरमा पोषणतत्व र पानीको असन्तुलनले जुनसुकै बेला बेहोस भई ज्यान जोखिममा पर्ने भन्दै अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा उपचारका लागि भर्ना हुन सल्लाह दिएको छ । 

डा. केसी लामो समयदेखि भोक, हडतालमा बस्नु भएकाले उहाँको स्वास्थ्यमा विभिन्न समस्या आएको चिकित्सकको सुझाव छ । सम्भावित जटिलता तथा सोको उपचारका लागि चिकित्सक टोलीसहित केसीलाई काठमाडौं पठाएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उहाँलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि पठाएको अस्पतालले सूचना जारी गरी जानकारी गराएको छ ।