• १० मंसिर २०८१, सोमबार

आध्यात्मिकताको जगमा पेसागत आचरण

blog

मानिस सामाजिक प्राणी हो यस हैसियतले उसको सम्पर्क, सम्बन्ध र अन्तक्र्रिया समाजका विभिन्न व्यक्तिसंग हुने गर्दछ। व्यक्तिमा अन्तरनिहित भावना र विशेषताले यस्तो सम्पर्क, सम्बन्ध र अन्तक्र्रियालाई प्रभाव पारिरहेको हुन्छ। व्यक्तिमा अन्तरनिहित हुने भावना र विशेषता व्यक्तिले ग्रहण गरेको आध्यात्मिक पक्षबाट प्रभावित हुने गर्दछ। समाजमा विद्यमान सबै अवयवप्रतिको दृष्टिकोण निर्माणमा आध्यात्मिकताको महत्त्व रहने गर्दछ।

राम्रो सोचाइ जीवनशैलीको एक आधार हो तर यो मात्र सम्पूर्ण होइन। जति राम्रो सोचाइको आवश्यकता छ त्यति नै श्रेष्ठ कर्मको पनि महत्व हुन्छ। दोस्रो, व्यक्ति वा अन्य वस्तुको प्राप्तिले मात्र हामीमा स्थायी प्रसन्नता उत्पन्न गर्न सक्दैन। बाह्य पक्षले हाम्रो जीवनमा योगदान, मार्गदर्शन र प्रेरणा त प्रदान गर्न सक्लान् तर प्रसन्नतामा मौलिकता प्रदान गर्ने उत्तरदायित्व व्यक्तिमै निर्भर रहेको हुन्छ। मानिसले जीवनको सार्थकता, मूल्य र महत्त्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याले जीवनको यात्रालाई कठिन बनाउँछ तर समाधान आफैँबाट खोजिनु पर्दछ।

आध्यात्मिकताको जानकारी र प्रयोगले जीवनमा प्रसन्नता ल्याउँछ। तìवमा जीवन जिउने कला जान्नु नै आध्यात्मिकता हो। पूजा पाठको पद्धति वा कर्मकाण्ड आध्यात्मिकता होइन। यो स्वयं र अन्य व्यक्तिले अपनाउँदै आएको जीवनप्रतिको सङ्घर्ष समाप्त गर्ने उद्देश्यले अपनाइने एक सकारात्मक दृष्टिकोण हो। यसको अवलम्बनले जीवन खुसी र सुखमय बन्दछ। मानव जीवनका स्वार्थरहित मित्रता, उद्देश्यपूर्ण जीवन र भावनात्मक सन्तुष्ट प्रसन्नताका आधार हुन्। प्रसन्नता प्राप्ति वा यसको अभावको बाह्य कारणको प्रभाव होइन यो आन्तरिक विषय नै हो। उदाहरणका लागि धन न त प्रसन्नता प्रदान गर्ने साधन हो न त अप्रसन्नताको साधन। व्यक्तिको बाह्य साधन वा वस्तुहरू (धन, व्यक्ति, घटना, वस्तुको उपयोग र दुरुपयोग) प्रतिको हेराइको दृष्टिकोणले नै यसको निधारण गर्दछ।

वर्तमान समयमा मानिसको जीवनका प्रत्येक कदमहरू सङ्कट, समस्या र निराशापूर्ण बनेका छन्। यसको समाधान कसरी गर्ने। स्वयंलाई निराश र हतास हुनबाट कसरी बचाउने ? यी प्रश्नको समाधान केवल आफैँभित्र आध्यात्मिकताको खोजीबाट मात्रै सम्भव छ। आध्यात्मिक ज्ञानले मानिसभित्र सकारात्मक चिन्तन उत्पन्न हुन्छ जसले जीवनप्रतिको यथार्थ दृष्टिकोण विकास गर्नमा सहायकसिद्ध बन्दछ। यो नयाँ विकसित आध्यात्मिक ज्ञानले जीवनमा उत्पन्न हुनसक्ने नकारात्मकता र यसबाट सिर्जित हुने कष्टलाई कम गराउनमा सहयोग पु¥याउछ। स्वयंप्रति बढीभन्दा बढी सकारात्मक दृष्टिकोणको उत्पत्ति गराउँदा हाम्रो मनोवृत्ति अरू व्यक्ति र अन्य परिस्थितिप्रति पनि सकारात्मक बन्न पुग्दछ। वर्तमान समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्तिको विकास आफैँबाट गर्न सक्नु पर्दछ किनकी जीवनलाई प्रभावित गर्ने बाह्य पक्षले जीवनलाई चुनौती दिँदै भ्रम उत्पन्न गरिरहेका छन्। यसर्थ, आन्तरिक शक्ति नै आध्यात्मिक व्यक्तिको लक्षण हो यसबाट जीवनमा सन्तुष्ट 

मात्र प्राप्त हुने होइन कि जीवनको सार्थकताको समेत स्पष्ट अनुभूति हुन पुग्दछ। 

आध्यात्मिक जीवनको प्रारम्भ बिन्दु स्वयंको बारेमा यथार्थ ढङ्गले सोच्ने र सचेत रहनु हो। आफूभित्र सकारात्मक एवं नकारात्मक सङ्कल्पको परीक्षण र पहिचान गर्नु नै स्वयंको बारेमा यथार्थ जान्नु हो। स्वयंमा विद्यमान सत्य आध्यात्मिक पहिचानको स्वीकार गर्न सके मात्र कुनै बहाना अथवा परिवर्तनको भयविरुद्ध लड्न सक्ने साहस सहज ढङ्गबाट आउन थाल्दछ। जीवनमा श्रेष्ठताका लागि प्रवृत्ति, भावना तथा अभिप्रायमा शुद्धता आवश्यक हुन्छ। आध्यात्मिकताको अवलम्बनले व्यक्ति विशेषमा दैनिक गतिविधि र कार्यसूचीहरूलाई उपयुक्त तबरबाट व्यवस्थापन गर्न सक्ने क्षमताको विकास हुन्छ। मानसिक एकाग्रताको अभिवृद्धिले लक्ष्य प्राप्तिमा नकारात्मक असर पार्न सक्दैन। आध्यात्मिक शिक्षा र प्रवृत्तिको अवलम्बनले अहंपनाको समाप्तिको साथै अनुशासित र उत्तरदायीपूर्ण जीवनशैलीको अवलम्बनमा सहयोग पुग्न जान्छ। 

नेतृत्वदायी व्यक्तिले आफ्नो असल कर्म र विचारको व्यावहारिक प्रदर्शन गर्न सक्नुपर्दछ। धैर्यता, दूरदर्शिता, अनुकूलनको सामायिक व्यवहार नेतृत्वका लागि आवश्यकीय विशेषता हुन्। यी सबै गुण आध्यात्मिकताको अवलम्बन गर्ने व्यक्तिमा बढी मात्रामा पाउन सकिन्छ। आध्यात्मिकताको अवलम्बनले प्रवृत्ति, दृष्टिकोण र कार्य दक्षतामा वृद्धि ल्याइदिनुको साथै यी दक्षताहरूको व्यावहारिक प्रयोगमा ऊर्जा प्रदान गर्दछ जुन कुरा नेतृत्व क्षमताको विकासका लागि अपरिहार्य पक्ष हो।

व्यावसायिक जीवन विविध अनेक पक्ष र आरोह अवरोहहरूको सङ्गम हो। परिश्रम, धैर्यता, सहनशीलता समस्यासँग भिड्न सक्ने क्षमता, चुनौतीबीच पनि अवसर देख्न सक्ने व्यावसायिक जीवनका अपरिहार्य विषय हुन्। आध्यात्मिकताको विकासले व्यक्तिमा उपरोक्त गुणहरू गहिराइबाट प्रवेश भएका हुन्छन्। आध्यात्मिकताले श्रमलाई सहज रूपमा स्वीकार्ने र शुभ भावनायुक्त बनाउनमा सहयोग पु¥याउँछ। जसले व्यक्तिलाई व्यावसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ।

सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महìवपूर्ण र आवश्यक संयन्त्र हो। सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ। समय, शिक्षा, प्रविधिको परिवर्तनसंँगै राजनीतिक र शासकीय आयाम धेरै परिवर्तन आउँछन् र यी परिवर्तनले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयाम सिर्जना गर्दछन्। यस्ता परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ। जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकारतर्फ लक्षित रहेको हुन्छ अन्ततः सरकारतर्फ लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ। त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूतिजस्ता क्षेत्रमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ। यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको सामयिक आवश्यकता हो। निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषता हुन्। यी विशेषताको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ। राज्य संयन्त्रप्रति जनताको अपनत्वबोध कायम गर्न सार्वजनिक प्रशासकहरूको सकारात्मक भूमिकाले सरकारप्रति जनमानसमा विश्वसनीययता वृद्धि भई जन अपनत्वयुक्त दिगो सरकार बन्न सक्दछ। 

सार्वजनिक निकायका कर्मचारीहरू आचरण र सदाचारयुक्त हुनुपर्दछ भन्ने विषय प्रजातान्त्रिक शासन प्रणालीको मूलभूत मान्यता हो। प्रजातान्त्रिक शासन प्रणालीमा शासकीय सहकर्ता धेरै हुने र यिनीहरू जनसरोकार वा राष्ट्रिय सरोकारका क्षेत्रमा कार्यरत रहने हुनाले सार्वजनिक पदाधिकारी सदाचारयुक्त हुनुपर्दछ। सार्वजनिक प्रशासकहरूको कार्यशैली सेवा भाव, निष्पक्षता, स्वच्छता, 

स्वार्थरहितता, इमानदारिता, सदाचारिता, कार्यकुशलता, जिम्मेवारिता, पारदर्शिता, उत्तरदायित्व, समानता र समता, आदरभाव न्यायिकता आदिबाट अभिप्रेरित हुनुपर्ने विषय अपेक्षित आचरणको दायराभित्र पर्नेछन्। हिजो जनताले केन्द्रबाट आचरणको अपेक्षा गर्दथे अब आफ्नै आँगन अगाडि रहेको सरकार र पदाधिकारीबाट सदाचारको अपेक्षा गर्दछन्। अब असल सार्वजनिक चरित्र प्रदर्शन गर्नुपर्ने व्यक्तिप्रति थप जनदबाबको सिर्जना भएको छ। हामीले अँगालेको शासन प्रणालीको कारणले सार्वजनिक पदाधिकारी सदाचारयुक्त बन्नुपर्ने सकारात्मक बाध्यता सिर्जना गराएको छ।

व्यावसायिकता सार्वजनिक प्रशासनको त्यो चरित्र हो, जसले कम साधन स्रोतको अत्यधिक उपयोग गरी उत्पादकत्वमा वृद्धि ल्याउने सामथ्र्य राख्दछ। यस अर्थमा व्यावसायिक प्रशासन राज्यका अमूल्य निधि हुन्। साधन स्रोतको उपयोगमा मितव्ययिता, प्राप्त समयको भरपूर उपयोग र निर्धारित समायावधिभित्र गुणस्तरयुक्त सेवा दिन सक्नु व्यावसायिक प्रशासनको गुण हो। आफ्नो कामप्रति पूर्णप्रतिबद्ध, लगावयुक्त, नैतिकता, निष्ठा, इमानदारिता, विश्वास र लक्ष्यप्रति प्रतिबद्ध जनशक्तिले नै व्यावसायिक प्रशासनको प्रत्याभूति दिन सक्दछन्। 

 लेखक नेपाल सरकारका सचिव हुनुहुन्छ।